काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला टोलीका लागि पहिलोपटक प्रो–लाइसेन्सवाला प्रशिक्षक नियुक्त गर्ने भएको छ । एन्फाले सोमबार सूचना जारी गर्दै प्रो–लाइसेन्सवाला प्रशिक्षकको आवेदन खुला गरेको हो । एन्फाले सिनियर महिला टोली सम्हालेको वा युथ राष्ट्रिय टिम सम्हालिसकेको हुनुपर्ने जनाएको छ । त्यस्तै, कम्तिमा २ वर्षको अनुभव भएको र ट्रयाक रेकर्ड पनि राम्रो भएको हुनुपर्ने जनाएको छ ।
एन्फाले ने एएफसी महिला एसियन कप छनोट २०२६ लाई लक्षित गर्दै प्रशिक्षकको आवेदन खुलाएको हो । एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेलमै लाओस प्रतिद्वन्द्वी पाएको हो । यी २ बीचको खेल २९ जुनमा हुनेछ । नेपाल र लाओस समूह ‘एफ’ मा परेका छन् । यो समूहमा उज्बेकिस्तान र श्रीलंका पनि छन् ।
यो समूहको खेल उज्बेकिस्तानमा हुने तय छ । नेपाल फिफा वरीयतामा ९९औँ स्थानमा छ । लाओस भने ८ स्थान तल अर्थात् १०७औँ स्थानमा छ । नेपालले दोस्रो खेल श्रीलंका र अन्तिम खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउने छ ।
साथै पर्फमेन्स एनलाइसिस पनि माग गरेको छ । एन्फाले यसमा फिटनेस कोर्सको प्रमाणपत्र हुनुपर्ने र लेभल वानको डाटा एनलाइसिस गरेको अनुभव हुनुपर्ने जनाएको छ । यसमा भने कम्तिमा १ वर्षको अनुभव अनिवार्य हुनुपर्नेछ ।
प्रतिक्रिया