मस्कट । ओमानको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिकाबीच शनिबार अप्रत्यक्षरुपमा भएको वार्ताले आगामी थप वार्ताका लागि वातावरण बनेको वार्तामा संलग्न दुवै पक्षले बताएका छन् । ओमानको राजधानी मस्कटमा दुई देशका प्रतिनिधिमण्डलबीच मध्यस्थ ओमानी कुटनीतिज्ञको सहयोगमा अप्रत्यक्ष वार्ता भएको थियो ।
इरानको आणविक कार्यक्रमलाई लिएर सन् २०१८ यता दुई देशबीच भएको यो उच्चस्तरीय बैठक हो । दुवै देशले पहिलो चरणको बैठकलाई ‘रचनात्मक’ भनेका छन् । अर्को साता दोस्रो चरणको छलफल हुनेछ ।
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ ह्विटकोफले गरेका थिए । इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानी विदेशमन्त्री अब्बास अराघचीले गरेका थिए । ओमानका विदेशमन्त्री बद्र बिन हमाद अल बुसैदीमार्फत दुवै देशका प्रतिनिधिलाई सन्देश पठाइएको थियो । यद्यपि, बुसाईदीको उपस्थितिमा अराघची र विटकोफले केही मिनेट प्रत्यक्ष कुराकानी पनि भएको थियो ।
‘मेरो विचारमा, पहिलो बैठकको रूपमा, यो एक रचनात्मक बैठक थियो जुन धेरै शान्तिपूर्ण र सम्मानजनक वातावरणमा भएको थियो, किनकि वार्तामा एक अर्कालाई अपमानित गर्ने खालको कुनै अनुचित भाषा प्रयोग गरिएको थिएन,’ अब्बास अराघचीले वार्तापछि इरानी सरकारी टिभीसँग भने ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वार्ता निकै सकारात्मक र रचनात्मक रहेको छ ।’ इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अर्को हप्ता पनि जारी राख्ने बताएको छ ।
अमेरिका र इरानबीच मस्कटमा शनिबार भएको वार्ताको मध्यस्थता गरेका ओमानका उच्च कूटनीतिज्ञले ती वार्ताहरू मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको र निष्पक्ष र बाध्यकारी सम्झौताको खोजी सुरु गरेको बताएका छन् ।
‘मस्कटमा शनिबार हामीले इरानी विदेशमन्त्री डा सैयद अब्बास अराघची र अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकोफलाई स्वागत गर्यौँ र निष्पक्ष र बाध्यकारी सम्झौता सम्पन्न गर्ने साझा उद्देश्यका साथ वार्ता र वार्ताको अन्य प्रक्रिया सुरु गर्न मध्यस्थता गर्यौँ’, उनले भने । मैत्रीपूर्ण वातावरणमा भएको यो सम्बन्धका लागि म मेरा दुई सहकर्मीलाई धन्यवाद दिन चाहन्छु,’ विदेशमन्त्री बद्र अल्बुसैदीले एक्समा पोष्ट गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया