रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा छ : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताएका छन् । शनिबार काठमाडौंमा भएको एसिया प्यासिफिक अप्टिमिस्टिक कन्फ्रेन्समा बोल्दै अध्यक्ष बस्नेतले नेपाली पत्रकारिताले अब रचनात्मक पत्रकारितामा जोड दिनुपर्ने बताए ।

त्यसका लागि काउन्सिलका तर्फबाट सहयोगी भूमिका रहने र काउन्सिलले प्रदान गर्ने तालिम प्रशिक्षणमा पनि रचनात्मक पत्रकारिताका विषयवस्तु समेटिने उनले बताए । ‘काउन्सिलले मिडिया हाउससँग सहकार्य गरेर यो विषय अघि बढाउनेछ, यसको निर्णय भइसकेको छ, त्यस्तै विश्वविद्यालयमा पाठ्यक्रममा समावेश गर्न अनुरोध गरेका छौँ, यससम्बन्धी पाठ्यसामग्री तयार गर्ने तयारीमा पनि छौँ’, उनले भने, ‘अहिले अनलाइन अभिमुखीकरण कार्यक्रममा समेत एउटा सेसनको रूपमा रचनात्मक पत्रकारिता समावेश गर्ने निर्णय भइ कार्यान्वयनको चरणमा रहेको छ ।’

काउन्सिलले रचनात्मक पत्रकारिता पाठ्यक्रममा समावेश गर्न ८ महिनाअघि नै सबै विश्वविद्यालयलाई पत्राचार पनि गरिसकेको छ ।
कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले सही, सत्य तथ्य सूचना सम्प्रेषण भएमा मात्र कतिपय विषय समाधान हुने भन्दै पत्रकारिताको विकासको लागि विभित्र पाठ्यसामग्री तयारी गरिएको बताए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचनले सन्तुलित सामग्री सम्प्रेषणमा थप ध्यान दिनुपर्ने भन्दै मिडियामा आएका सामग्रीले जनताको जीवनस्तर परिवर्तन भएको दृष्टान्त पेस गरे । यस्तै सञ्चारिका समुहका अध्यक्ष विमला तुम्खेवाले रचनात्मक पत्रकारिताबारे पत्रकारबिच घनिभूत छलफल चलाउनुपर्ने भन्दै सञ्चारिका समूह सहकार्य गर्न तयार रहेको बताइन् ।

कार्यक्रममा रचनात्मक पत्रकारितामा अध्ययन अनुसन्धान गरिरहेका पत्रकार कला अनुरागीले आशा जगाउने अभियानको महत्त्वपूर्ण साधन मिडिया भएको उल्लेख गरे । खोजी गरेर कारण र समाधानका उपायसहितको समाचार लेख्नु नै रचनात्मक पत्रकारिता भएको भन्दै उनले विस्तृत, समीक्षात्मक, खोजमूलक पत्रकारिताले जनविश्वास समेत अभिवृद्धि गर्न सघाउने बताए । फुटेको ऐनाका टुक्रा बिझेको जस्तो नकारात्मकता बढी दिनेगरी पत्रकारिता भइरहेकोले समाधान केन्द्रित रचनात्मक पत्रकारिता गर्न अभियान छेड्नुपर्ने उनले बताए ।

प्रतिक्रिया