कास्की । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पाउँदुर घुम्ती क्षेत्रमा आज–भोलि ऐसेलु बेच्ने स्थानीयहरुको बाक्लै भीड लाग्ने गर्दछ । पाखा, डाँडा र खर्कहरुमा फल्ने ऐंसेलु अहिले सो क्षेत्रका स्थानियहरुको आम्दानीको स्रोत बनेको छ । पोखरा बागलुङ सडकखण्डमा यात्रा गर्ने प्रायः हरेक यात्रुले यहाँको ऐसेलु किन्ने गर्दछन् ।
प्रतिसोली (पातबाट बनाइएको सोली) १०० रुपैयाँमा बिक्री हुने ऐसेलु टिप्न भने एक बिहानै खर्च गर्नुपर्ने स्थानीय ऐसेलु व्यापारी रशिका विश्वकर्माले बताइन् । ‘बिहानै अधेरीखोला तिर जानुपर्छ, टिप्नको लागि पनि गाह्रो नै छ, काँडाले घोच्छ’, उनले भनिन् ।
त्यस्तै ऐसेलु बेचेरै प्रतिदिन रु २ हजारसम्म कमाई हुने स्थानीय अस्मी विश्वकर्माले बताइन् । तर ऐसेलु वर्षको चैत–वैशाख–जेठ महिनामा मात्र फल्ने हुँदा अन्य दिन खेतिकिसानी नै गर्ने गरेको उनले सुनाइन् ।
गाउँमा धेरै मात्रामा ऐसेलु फल्ने भए पनि त्यसको सही उपयोग हुन नसकेको स्थानीयले बताउँछन् । पूर्वका केही जिल्लामा वाइन बनाउन र जुस बनाउनको लागि ऐसेलुको उपयोग गरी राम्रो आम्दानी गरेको भए पनि यहाँ त्यसो हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।
ऐसेलु नेपालको पहाडी भेगलगायत अन्यत्र पनि पाइन्छ । जस्तो, भारत, पाकिस्तान, चीन । यसलाई ‘गोल्डेन हिमालयन रासबेरी’ भनेर पनि चिनिन्छ । कतिपय भेगमा चाहिँ यसलाई ‘रासबेरी’ नामले पनि चिनिन्छ ।
ऐसेलु स्वादिलो र रसिलो फल मात्र होइन । यसमा भिटामिन सि, फिनोल, फ्लेवोनोइड जस्ता सुक्ष्म पोषक तत्व हुन्छ ।
ऐसेलुको जरामा औषधिय गुण हुन्छ । ज्वरो आउँदा, झाडापखाला लाग्दा, ग्याष्ट्रिक हुँदा ऐंसेलुको जरा सेवन गर्नु फाइदाजक हुन्छ ।– तस्विरहरु नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया