सामान्य हिउँदे वर्षा पनि थेगेनन् सडक र पुलले, थपियो बर्खे झरीको त्रास !

काठमाडौँ । लामो समयपछि परेको हिउँदे वर्षाले देशका विभिन्न ठाउँमा सडक अवरुद्ध हुन पुगेका छन् । बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा भएको वर्षाले देशका विभिन्न राजमार्ग प्रभावित भएका हुन् ।

प्रहरीका अनुसार कर्णाली प्रदेशका ५ ठाउँमा सडक अवरुद्ध भए भने भक्तपुरमा अरनिको राजमार्ग, काभ्रेपलान्चोकमा बिपी राजमार्ग, दार्चुलाको गोकुलेश्वर–दार्चुला सडकमा पहिरोले आंशिक क्षति पुर्यायो । वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दाउन्नेमा बाटो हिलो र चिप्लो भएपछि सडकमा सवारी आवागमन नराम्ररी प्रभावित पुग्यो ।

बन्दाबन्दैको पक्की पुल भाँचियो

अमाह खोलामा आएको बाढीले उदयपुरको कटारी नगरपालिका–२ मा पर्ने सिमानपुर र कल्याणपुर जोड्ने ५० मिटर लामो निर्माणाधीन पक्की पुल नै भत्काएको छ । बाढीका कारण पुलमुनि लगाइएको ह्युमपाइप थुनिएर ५० मिटर लामो पक्की पुल भत्किएको मिर्चैया–कटारी–घुर्मी योजना प्रमुख पशुपति ज्ञवालीले बताए । उनका अनुसार प्रिस्टेस्ट प्रविधिको उक्त पुलले लोड लिनका लागि ढलान भएको २८ दिनपछि केबल हाल्नुपर्ने थियो । उक्त पुल ढलान भएको २० दिन मात्रै भएको थियो । ज्ञवालीले भने, ‘मौसममा पानी आउँछ भन्ने कसैलाई अनुमान नभएको र अचानकको बाढीले ह्युमपाइपबाट बग्नेभन्दा ठुलो पानी आएर पुल क्षतिग्रस्त भएको छ ।’

थोरै वर्षामा किन यति क्षति ?

चैते वर्षाले नै यति धेरै राजमार्ग तथा सडक बन्द हुने अवस्थामा पुग्दा बर्खामा के होला भन्ने त्रास उब्जिएको छ । यस विषयमा सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले सडक निर्माणको क्रममा रहँदा एक्कासि पानी पर्दा केही समय बाटो बन्द वा आवतजावत प्रभावित हुन पुगेको बताए । सौर्य दैनिकसँग कुरा गर्दै शर्माले भने, ‘स–साना पहिरो तथा बाढीका कारण केही घन्टाका लागि यातायात प्रभावित हुन पुगेको हो । स्थायी रूपमा धेरै नै क्षति भएर सडक अवरुद्ध भएको छैन ।’

तर, वर्षापछि बिपी राजमार्गका धेरै स्थानमा सडक बन्द भएको थियो । गत असोजमा आएको बाढी तथा पहिरोले क्षति गरेको सडकमा अस्थायी डाइभर्सन बनाएर काम गरिरहको अवस्थामा केही क्षति भएको उनले सुनाए । उक्त सडक स्थायी रूपले बनाउन धमाधम काम हुँदै गर्दा पहिरो झरेकाले बाटो बन्द हुन पुगेको उनले बताए । उनले भने, ‘निर्माण भइसकेपछिको बाटोमा क्षति पुगेको नभई निर्माण भइरहेको ठाउँमा प्रभावित भएको हो । आगामी बर्खासम्म पूर्ण रूपमा सञ्चालन गर्ने गरी काम भइरहेको छ ।’

सडक विभागले ट्राफिक म्यानेजमेन्ट एक्सन टिम बनाएर द्रुत रूपमा काम गर्ने गरेको भन्दै उनले निर्माण तथा निर्माणजन्य सामग्रीको गुणस्तरमा कुनै कम्प्रमाइज नहुने बताए ।

प्रतिक्रिया