के अमेरिकाकाे भन्सार कर नीतिबाट नेपालले लाभ लिन सक्छ ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८५ वटा देशका लागि घोषणा गरेको ‘रेसिप्रोकल’ अर्थात् पारस्परिक भन्सार दरले विश्व अर्थतन्त्रमा हलचल ल्याएको छ । अमेरिकाको भन्सार दर अनुसार अप्रिल ५ देखि नै नेपाली सामानमा १० प्रतिशत कर लागिसकेको छ । विश्वका अधिकांश देशले अमेरिकी निर्णयविरुद्ध जबाफी कर लगाइसकेका छन् भने कतिपयले लगाउने बताइरहेका छन् । जसका कारण विश्व अर्थतन्त्रमा ठुलो उतारचढाव आउने विज्ञहरूले बताएका छन् ।

नेपालले भने जबाफी कर लगाउने सोचेको छैन । यद्यपि, अमेरिकी सहयोग प्रभावित हुने डरले सरकारले जबाफी करको निर्णय गर्न नसकेको आरोप पनि लगाइएको छ । तर, अमेरिकाले कर बढाएपछि जबाफी कर लगाउने वा त्यसको स्वागत गर्ने विषयमा नेपाल सरकारले अहिलेसम्म कुनै छलफल नै गरेको छैन । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले अमेरिकाले बढाएको भन्सार करबारे सरकारको धारणा आइनसकेको बताए । उक्त नीतिका कारण नेपाली वस्तु निर्यातमा भने खासै असर नपर्ने भण्डारीको दाबी छ ।

त्यस्तै, नेपाल–अमेरिका उद्योग वाणिज्य संघका अध्यक्ष किरण शाखले बढेको करले निरन्तरता पाउने हो कि होइन ? भन्नेमा शंका रहेको बताए । संसारभर यसको विरोध भएको छ, अमेरिकामा पनि विरोध भइरहेको अवस्थामा निरन्तरता पाउने÷नपाउनेमा शंका छ । छिमेकी मुलुकहरूको तुलनामा अमेरिकाले नेपालका उत्पादनमा कम भन्सार लगाएको हुँदा नेपालका लागि सुनौलो अवसर भएको उनले बताए ।

उनले भने, ‘हामीले अमेरिकामा वस्तु निर्यात गर्दा छिमेकी मुलुकहरूसँग उस्तै–उस्तै वस्तुहरूमा प्रतिस्पर्धा गर्नुपरिरहेको थियो । अब उनीहरूको वस्तुमा धेरै कर लाग्दा हामीलाई सजिलो हुन्छ ।’ यस्तो अवस्थामा अमेरिकी क्रेताहरूको रोजाइमा नेपाली वस्तु पर्ने भएकाले समग्र व्यापार लाभदायक नै हुने उनको तर्क छ ।

अर्थविद् केशव आचार्यले पनि अमेरिकाले बढाएको भन्सार नेपालका लागि राम्रो अवसर भएको बताए । उनले भने, ‘अहिलेकोे अवस्थामा सरकार र निजी क्षेत्र मिलेर बंगलादेश, भारत, श्रीलंका, अमेरिकाकै लगानी ल्याएर अमेरिकामा रुचाइएको वस्तु निर्यात गर्ने अवसर छ ।’ तर, यसका लागि नेपालले पठाउने वस्तुको उत्पादन बढाउनु जरुरी रहेको उनले बताए ।

उनले भने, ‘विदेशी लगानी ल्याउन सरकारले दक्ष जनशक्ति ल्याएर हदैसम्म उदार भएर काम गर्नुपर्ने बेला आएको छ । नेपालमा युवा जनशक्तिलाई समेत नेपालमै राखेर कारखाना तथा उत्पादनमा काम गर्नु जरुरी छ ।’

अमेरिका–नेपाल व्यापारको अवस्था

नेपाली वस्तु निर्यातको सूचीमा अमेरिका दोस्रो स्थानमा पर्छ । नेपालले आयात गर्ने देशहरूको सूचीमा भने छैटौँ नम्बरमा पर्छ । चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा नेपालले ११ अर्ब ३७ करोड ८१ लाख २ हजार रुपैयाँ बराबरको वस्तु अमेरिका निर्यात गरेको छ भने १७ अर्ब ३५ करोड १६ लाख ८० हजार रुपैयाँ बराबरको वस्तु अमेरिकाबाट आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १७ अर्ब ३१ करोड ४५ लाखको निर्यात गर्दा १९ अर्ब ४८ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

नेपालबाट अमेरिका निर्यात हुने वस्तुहरूमा ऊनी गलैँचा, कुकुर र बिरालोको आहार, ऊनी फेल्टका सामान, हस्तकलाका सामग्री, कार्पेट, तयारी पोसाक, ग्लासवेयर, पस्मिना सल, सारयुक्त तेल, संगीतका सामान, नेपाली हातेकागजका सामग्री छन् । नेपालले अमेरिकाबाट सन् २०१६ देखि १० वर्षका लागि ७७ प्रकारका वस्तुको निकासीमा कर छुट पाउँदै आएको थियो ।

प्रतिक्रिया