चुरेमा पनि वायु प्रदूषणको पिरलो

बर्दिवास । महोत्तरीको चुरे क्षेत्रका स्थानीयहरू एक्कासि आँखा पोल्ने समस्याबाट प्रताडित बनेका छन् । वायुमण्डलमा बाक्लै देखिएको धुवाँको कारण आँखा पोल्ने समस्या बनेको स्थानीयहरूको भनाइ छ ।

केहीदिनदेखि वायु प्रदूषण अत्यधिक बढेपछि बाहिर निस्कँदा र घरमा नै बसिरहँदा पनि समस्या बनिरहेको स्थानीय युवा अमिश रिसालले वताए । ‘हिजो ९ बजे कोठामा नै बसिरहेको बेला पनि आँखा अत्यधिक पोलेको र हेर्न नसक्ने अवस्था बनेको थियो’, रिसालले भने । ‘यही स्थिति रह्यो भने भयावह हुने देखिन्छ ।’
विशेष गरी जिल्लाको औरही नगरपालिकादेखि माथि बर्दिवास, गौशाला नगरपालिकाहरुमा यो समस्या देखिएको छ । आकाश र वरपर अत्यधिक धुवाँ देखिएपछि बिहानै मर्निङ वाकमा निक्लनेहरू त्रसित बनेका छन् ।

शुभस्वस्तिक अस्पतालका प्रमुख दीपक कार्कीले वायुप्रदूषणका तस्बिरहरू साझा गर्दै विशेषगरी बालबालिका र वृद्वहरूलाई सचेत हुन आग्रह गरेका छन् । ‘अहिले चुरेमा बाक्लो हुस्सुजस्तो देखिन्छ त्यो वायुप्रदूषण नै हो’, प्रमुख कार्कीले भने, ‘सबैजना यसबाट सावधान अपनाउनुपर्ने नितान्त आवश्यक छ ।’
यता स्वास्थ्यकर्मीहरूले पनि चुरे क्षेत्र विशेषगरी बर्दिवास नगर क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहले चुरेका जंगलमा भएको आगलागीको कारण पनि यो समस्या बनेको हुन सक्ने वताए ।

‘अहिले जताततै डढेलो लगाइएको छ । वन नै सखाप हुनेगरी भएको आगलागीका कारण यो समस्या उत्पन्न भएको हुन् सक्छ’, प्रमुख साहले भने, ‘जेजस्तो भए तापनि सावधानी अपनाउनुपर्छ ।’

स्वास्थ्यकर्मीहरूले कामबिना वाहिर ननिस्कन पनि सुझाएका छन् । वर्षासमेत नभइरहेको अवस्थामा अहिले देखिएको वायुप्रदूषण थप भयावह हुन सक्नेतर्फ उनीहरूले सचेत गराएका छन् ।

प्रतिक्रिया