सर्लाही । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध जनवर्गीय संगठन ‘समाजवादी किसान महासंघ’ को केन्द्रिय समितिको प्रथम बैठक सम्पन्न भएको छ । बुधबार ग्वार्कोस्थित जसपाको केन्द्रिय कार्यालयमा बसेको बैठकले महासंघको केन्द्र तथा प्रदेशस्तरीय पदाधिकारीहरुलाई सपथ ग्रहण गराएको छ ।
नवगठित समितिका पदाधिकारीहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै महासंघलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका संघीय परिषद् अध्यक्ष एवं पुर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले किसानहरूको हक, अधिकार तथा उनीहरूको समग्र उत्थानका लागि महासंघको भूमिका महत्वपूर्ण रहने बताए ।
कृषिलाई आधुनिकीकरण, यान्त्रिककरण र औद्योगिककरण गर्नु आजको आवश्यकता रहेको र कृषिमा कृत्रिम बौद्धिकताको प्रयोगलाई अब नेपालमा पनि अनुसरण गर्नुपर्ने समय आएको उनले बताए । सम्बोधनकै क्रममा पार्टीका केन्द्रिय समितिका अध्यक्ष एवं पूर्वमन्त्री अशोक राईले जनवर्गीय संगठन जनताहरुको बिचको संगठन भएकोले संगठनको उदेश्य प्राप्तिको लागि शुभकामना व्यक्त गरे ।
देशमा किसानहरुको हकहित र समस्याको समाधान लागि आवाज उठाउनुका साथै कृषिलाई जिविका मुखिबाट आधुनिकीकरण र आत्मनिर्भर बनाउनुपर्नेमा उनले जोड दिए । व्यवसायीक रुपले कृषिलाई रुपान्तरण गर्ने प्रक्रिया व्यापक बढ्दै गएकोले कृषि क्षेत्रलाई सबल बनाए देशमा बेरोजगारी हट्ने उनले बताए ।
महासंघका केन्द्रिय अध्यक्ष भाग्य नारायण रायले बैठकमा किसानहरूको वर्तमान समस्याका विषयमा छलफल गर्दै तिनको समाधानका लागि ठोस रणनीति अवलम्बन गर्ने निर्णय गरिएको छ । बैठकले आगामी दिनमा किसानका चुनौती, समस्या र तिनका समाधानका लागि ठोस योजना सहित महासंघ अघि बढ्नेछ ।
आफ्नो अध्यक्षतामा महासंघले किसानका अधिकार र कृषि नीति सुधारका मुद्दामा सशक्त रूपमा आवाज उठाउने र अघि बढ्ने उनले ठोकुवा गरे । किसान आन्दोलनलाई थप सशक्त बनाउन महासंघको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै उनले महासंघको भावी कार्ययोजना निर्माणका लागि बैठकमा विभिन्न प्रस्तावहरू समेत पेश गरिएको बताए । बैठकले भूमि आयोगका प्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ ।
समाजवादी किसान महासंघका केन्द्रिय अध्यक्ष भाग्य नारायण रायको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथिका रुपमा पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ रहेका थिए भने विशिष्ट अतिथिका रुपमा पार्टीका केन्द्रिय समितिका अध्यक्ष एवं पुर्व मन्त्री अशोक राई रहेका थिए ।
त्यसैगरी अतिथिका रुपमा पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादव लगायत कार्यक्रममा जिल्ला, प्रदेश र केन्द्रिय तहका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य राजेश्वरी शर्माले राखेका थिए । भने उद्घोषण ओम कृष्ण श्रेष्ठले गरेका थिए ।
प्रतिक्रिया