काठमाडौँ । लघुचलचित्र ‘दृश्य’ (द लाइट अफ आई) को निर्माण सम्पन्न भएको छ । काठमाडौँमा छायांकन गरिएको ‘दृश्य’ को निर्माण कार्य सम्पन्न भएसँगै निर्माण टिमले पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा एउटा आँखाभित्र २ जना पात्रहरू देखाइएको छ । १ जना दृष्टिविहीन र अर्को सामान्य मानिसलाई आँखाभित्र अटाइएको छ । दृश्यको पोस्टर रसिकराजले तयार पारेका हुन् ।
ऐना आर्टसको प्रस्तुति तथा आश्री इमिग्रेसनको सहकार्यमा निर्माण गरिएको ‘दृश्य’को निर्माता नितु घिमिरे रहेकी छन् । आश्री इन्भेस्टमेन्टको सहयोगमा तयार भएको लघुचलचित्रका निर्माण प्रमुख रामेश्वर भट्टराई हुन् । आश्री इमिग्रेसन, आश्री इन्भेस्टमेन्ट, आश्री ट्राभल्सका सञ्चालकसमेत रहेका भट्टराईले कथावस्तु मन परेकाले लघुचलचित्र निर्माण गरिएको बताए ।
‘दृश्य’मा नारायणराज चौलागाइँ, सुवासप्रसाद गजुरेल, राकेश श्रेष्ठ, आरुष मगर, युनिसा कार्की, बिदुरप्रसाद सिग्देल, सन्तोष सुवेदी, नरेन भट्टराई, रमेश बज्राचार्य, चक्रप्रसाद पोखरेल, उद्धब दंगाल, नितु घिमिरे, सुरेन्द्र क्षेत्री, सुरज आचार्य, रिजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सन्तोष कार्की, उद्धव दंगाल, रेनुका कार्की, अविन ठटाल र कृषला श्रेष्ठले स्वरांकन गरेका छन् । मुन क्रियसन फिल्म एकेडेमीमा कार्यशाला गरिएको लघुचलचित्रको कला निर्देशन सुमित राईले गरेका छन् । सन्तोष श्रेष्ठको संगीत रहेको ‘दृश्य’को बाँसुरी वादकका रुपमा नगेन्द्र राई रहेका छन् । सहायक निर्देशन करण साउदले गरेका छन् । अनिलकुमार महर्जनको सम्पादन तथा रंग संयोजन रहेको छ । ‘दृश्य’को पात्र र चरित्रकै लागि ६ महिनादेखि तयारी गरेर आफूले सकेसम्म मिहिनेत गरेको कलाकार नारायणराज चौलागाईंले बताए ।
‘दृश्य’को लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । बाहिरी आँखाले देखेको भौतिक दुनियाँ र हृदयको आँखाले महसुस गर्ने अन्तरमनको दुनियाँलाई तुलनात्मक रूपमा लघुचलचित्रमा देखाउन खोजिएको अभिलाषीको भनाइ छ ।
प्रतिक्रिया