विश्वस्तरीय स्क्वास खेलाडीले नेपालीलाई प्रशिक्षण दिने

काठमाडौँ । विश्व स्क्वास वरीयतामा पाँचौँ स्थानमा रहिसकेका बोर्खा गोलान नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड ¥याकेट्स संघले सोमबार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको हो ।

गोलानले १ हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिनेछन् । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा पाँचौँ स्थानमा थिए । उनले पिएसए विश्व टुरमा ३३ उपाधि जितेका थिए । यसैगरी उनी १७ पटकको स्पेनका राष्ट्रिय च्याम्पियन पनि हुन् ।

२ पटक युरोपेली इन्डिभजुयल च्याम्पियन भइसकेका गोलानले स्पेनको राष्ट्रिय टिमलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगतामा नेतृत्व पनि गरिसकेका छन् । सन् २०२३ मा गोलानले खेलाडी जीवनबाट सन्न्यास लिएका थिए । त्यसपछि उनले गोलान स्क्वास एकेडेमीको स्थापना गरेका छन् । जुन एकेडेमीले युवा खेलाडी उत्पादन र सहयोग गर्ने गर्दछ । सोही एकेडेमीमा नेपालका स्क्वास खेलाडी अमृत थापा मगर पनि छन् ।

४२ वर्षीय प्रशिक्षक गोलानले नेपालको बारेमा धेरै सुनेको बताउँदै आफूले नेपाली स्क्वास खेलाडीलाई थप उत्प्रेरित गर्ने लक्ष्यसहित नेपालका आएको उनको भनाइ छ ।

‘पछिल्ला २–३ वर्षदेखि प्रशिक्षकको जिम्मेवारीमा छु, नेपालमा सिकाउने मात्र होइन, मैले पनि धेरै सिक्ने अवसर पाउनेछु’, उनले भने । नेपाल स्क्वास एन्ड र्याकेट्स संघका अध्यक्ष ध्रुवबहादुर गुरुङले गोलानको प्रशिक्षणले नेपाली स्क्वास खेलाडीको स्तर अझ माथि उकासिने उनको भनाइ छ ।


उनले गोलान स्क्वास फाउन्डेसनबाट युरोपका स्तरीय खेलाडीसँग अनुभव साटासाट गर्न दिन नेपाली खेलाडीहरूलाई स्क्वास टुरको व्यवस्था गर्न पनि अनुरोध गरे ।

यसैगरी नेपाल स्क्वास एन्ड ¥याकेट्स संघका निवर्तमान अध्यक्ष किशोर महर्जनले गोलानबाट खेलाडीहरू मात्र होइन नेपाली प्रशिक्षकहरूले पनि धेरै कुरा सिक्ने अपेक्षा गरे ।

प्रतिक्रिया