परिवर्तन नेपालद्वारा नवनियुक्त चलचित्र विकास बोर्ड सदस्य लोहनी सम्मातिन

काठमाडौं । परिवर्तन नेपालद्वारा नवनियुक्त चलचित्र विकास बोर्डका सदस्य सन्तोष बाबु लोहनी सम्मानित भएका छन् ।

‘माटो बदलिँदैन, विचार बदलौन्’ भन्ने नाराका साथ नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रको सर्वाङ्गिण विकासका लागि विसं २०५२ मा स्थापना भएको परिवर्तन नेपालले राजधानीमा आयोजित एक कार्यक्रममा हालै चलचित्र विकास बोर्डका नवनियुक्त सदस्य लोहनीलाई सम्मान गरेको हो ।

विशिष्ट चलचित्र अभिनेत्री बसुन्धरा भुषाल, विशिष्ट कलाकार कृष्ण मल्ल, लय संग्रौला, विशिष्ट चलचित्र निर्देशक रमेश बुढाथोकी तथा परिवर्तन नेपालका संस्थापक एवं केन्द्रीय अध्यक्ष मोहन निरौलाले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।

परिवर्तन नेपालले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि संस्थापक अध्यक्ष मोहन निरौलाको जन्मोत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, साहित्यकार राधेश्याम लेकाली, अधिवक्ता कृष्ण ढुंगाना लगायतका विशिष्ट व्यक्तित्वहरूले अध्यक्ष निरौलालाई जन्मदिनको शुभकामना दिएका थिए ।

मानिसहरुको जीवन जसरी पञ्च तत्वद्धारा निर्देशित हुन्छ त्यसैगरी सोही पञ्चतत्वको अनुष्ठान गरी हाम्रो मौलिक परम्परा, संस्कृति र सभ्यता बमोजिम अध्यक्ष निरौलाको जन्मदिनको अवसरमा पञ्च दिप प्रज्वलन गरिएको थियो । हाम्रो धार्मीक मान्यता अनुरुप पञ्चदिप प्रज्वलित गर्दा मानिसहरुमा आफ्नो कर्म, पेशामा क्रियाशिल रहँदै आफ्नो आचारण तथा स्वभावमा सदाचारिताको विकास हुन्छ भन्ने जनविश्वास रहेको छ ।

कार्यक्रमलाई व्यवस्थित बनाउन चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्काले महत्वपूर्ण भूमिका निभाएका थिए। सो अवसरमा अध्यक्ष डिसीले कविता वाचन गर्नुका साथै गीत प्रस्तुत गरेका थिए ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका मोहन निरौलालाई शुभकामना दिन चलचित्र कलाकार संघ, चलचित्र संघ, चलचित्र निर्देशक समाज, द्वन्द्व कलाकार संघ लगायतका संस्थाका प्रतिनिधिहरू तथा चलचित्र, साहित्य र पत्रकारिता क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

निरौला नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समेत हुन् । कार्यक्रमलाई परिवर्तन नेपालका मानार्थ सदस्य तथा चलचित्र निर्देशक माधवराज खरेलले सञ्चालन गरेका थिए भने गोपाल ढकाल ‘छन्दे’, गायिका बबिरोजा ढकाल, गायक सुरज अधिकारी लगायतका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया