काठमाडौँ । २८ चैतमा अस्ट्रेलियामा ‘आनन्द कार्की सुमधुर साँझ’ हुने भएको छ । पाल्पा इन्टरटेन्मेन्टको प्रस्तुति रहेको कार्यक्रम बार्दली फङ्सन सेन्टर, मेरिल्यान्डमा हुनेछ । साँझ साढे ६ बजेबाट सुरु हुने सांगीतिक साँझमा आनन्द कार्कीले आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई झुमाउनेछन् ।
आधुनिक तथा नेपाली सिनेमा पाश्र्वगायनका लागि परिचित कार्की ‘जनम जनम जिउँला सँगै’, ‘यी हल्लाहरू हुन् तिमीले सुनेका’, ‘लाग्छ मन हेरिरहुँ’, ‘सुन सुन मायालु जोडी हो’, ‘जिन्दगी बाँच्नु छ २–४ दिन’, ‘संसार यो बनेको छ’, ‘भरे आउँछु सपनीमा’, ‘तिमीसँग जे छ’ जस्ता गीतका लागि चर्चित छन् ।
सो कार्यक्रममा अस्ट्रेलियामा बस्दै आएकी गायिका प्रिति घिमिरेले समेत आफ्नो प्रस्तुति दिनेछिन् भने कार्यक्रमलाई कलाकार, निर्माता तथा निर्देशक सोभित बस्नेतले सञ्चालन गर्नेछन् ।
गाला डिनरसहितको यो सांगीतिक कार्यक्रमका लागि ५५ अस्ट्रेलियन डलरको टिकट तोकिएको छ । साँझमा कार्कीले करिब २ घण्टा लामो सांगीतिक प्रस्तुति दिने जानकारी आयोजक संस्था पाल्पा इन्टरटेन्मेन्टले दिएको छ । पाल्पा इन्टरटेन्मेन्ट अस्ट्रेलियामा नेपाली सांगीतिक तथा सिनेमा गतिविधिमा सक्रिय रहँदै आएको छ ।
प्रतिक्रिया