काठमाडौँ । चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण घोषणादेखि नै चर्चामा छ । चैतको अन्त्यबाट छायांकनमा जाने चलचित्रको ४० दिनको छायांकन सेड्युल रहेको निर्माणपक्षले जनाएको छ । नयाँ कथावस्तु निर्माण हुने ‘जनै हराएको बाहुन’मा कलाकारहरूको पनि लाइनअप बलियो देखिएको छ । यो चलचित्रको मुख्य भूमिकामा अभिनेता विजय बराल फाइनल भइसकेका छन् । मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगर छन् । साथमा गौरव पहाडी र रेअर राईले काम गर्ने पक्का भइसकेको छ ।
यसैबीच, फिल्ममा अभिनेता सुशांक मैनाली पनि जोडिएका छन् । नेसनल अवार्ड विजेता अभिनेता मैनालीले ‘जनै हराएको बाहुन’मा मुख्य भूमिका निवार्ह गर्ने पक्का भएको छ । उनी अनुबन्धित भएसँगै लामो समयपछि नेपाली सिनेमामा पुनः देखिने भएका छन् । उनले ‘साँगुरो’, ‘टलकजंग भेर्सस टुल्के’लगायत चलचित्रमा काम गरेका थिए । सम्बन्धका धागोहरूलाई केन्द्रमा राखिएको कथा मन परेकाले आफू धेरै वर्षपछि नेपाली चलचित्रमा फर्किन लागेको मैनालीले बताएका छन् ।
‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको इमोसनल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तन देखाइनेछ ।
‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेब्यु निर्देशन छन् । यो चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत–३’ अभिनेता मनिष राउत छन् । हरितालिका तीजको अवसर पारेर आगामी १० भदौमा रिलिज हुने छ । पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रमा थानेश्वर गौतमको संगीत रहने बताइएको छ ।
प्रतिक्रिया