पूर्वराजालाई पक्राउ गरेर देखाउन लिङ्देनको चुनौती

मिश्र र राणालाई रिहा गर्न २४ घन्टे अल्टिमेटम

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले रवीन्द्र मिश्र र धवलशमशेर राणलगायत आफ्ना नेताहरूलाई रिहा गर्न २४ घन्टे अल्टिमेटम दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएको छ । शुक्रबारको आन्दोलन र त्यसपछिको अवस्थाबारे छलफल गर्न शनिबार राप्रपाको कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

उक्त बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले २४ घन्टे अल्टिमेटम दिँदै चुनौती पेस गरेका हुन् । मिश्र र राणालाई २४ घन्टाभित्र रिहा नगरे देशव्यापी आन्दोलन गर्ने निणय राप्रपाको छ । ‘प्रदर्शनमा सहभागी हुनुभएका हाम्रा पार्टीका नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर र अधिवक्ता स्वागत नेपाललाई जुन ढंगले पक्राउ गर्ने र मुद्दामा फसाउने योजना बनाइएको छ, उहाँहरूलाई २४ घन्टाभित्र बिनासर्त रिहा गर्न राप्रपाले माग गर्ने निर्णय गरेको छ,’ लिङ्देनले भने, ‘रिहा गरिएन भने राप्रपाले यसलाई आन्दोलनका रूपमा उठाएर जाने निर्णय गरेको छ ।’

त्यस्तै, सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिँदै तिनकुने घटनाका बारेमा पूर्वराजाको नाम जोडिएकोप्रति असन्तुष्टिसमेत व्यक्त गरे । त्यसबारेमा आफ्नो कुनै टिप्पणी नभएको बताउँदै उनले राजालाई कुनै पनि विवादमा तान्नु नहुने तर्क प्रस्तुत गरे ।

‘राजालाई विवादमा तान्नु हुन्न भन्ने कुरामा अहिले पनि प्रष्ट छु । राजालाई एरेस्ट गरेर देखाउनु, अनि शक्ति हामी देखाउछौँ,’ लिङ्देनले भने । बैठकले शुक्रबारको घटनामा ज्यान गुमाएका कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न माग गरेको छ ।

घटनाको जिम्मा सरकारले लिनुपर्छ– राप्रपा, पूर्वराजाले लिनुपर्ने कांग्रेसको निष्कर्ष

शनिबार बसेको राप्रपा बैठकले तिनकुने घटनाको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने ठहर गरेको छ । आन्दोलनका कार्यक्रम भड्किनुमा सरकार आफैँ दोषी रहेको बैठकको निष्कर्ष छ । ‘शुक्रबार जे घटना भयो, त्यसमा सरकारको संलग्नता थियो,’ लिङ्देनले भने, ‘सरकार दमन गर्ने योजनाका साथ परिचालित भएको थियो ।’

उता, सत्तारुढ दल नेपाली कांग्रेसले भने उक्त घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । शनिबार नै बसेको कांग्रेसको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा प्रदर्शन भएको र अराजकता फैलाइएको आरोप लगाएको छ । गृहमन्त्री रमेश लेखकसमेतको उपस्थिति भएको सो बैठकमा लेखकले घटनाको ब्रिफिङ गरेका थिए ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पूर्वराजाकै निर्देशनमा तिनकुनेमा अराजकता फैलाउनेहरू भेला भएको आरोप लगाउँदै घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले नै लिनुपर्ने बताए ।

‘राजावादीहरूले जुन हिसाबले लक्षित गरी आक्रमण गरे, त्यसको कांग्रेसले भत्र्सना गरेको छ । निरंकुश शासन लाद्ने मनसायका साथ यो घटना गराइएको छ । यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ,’ उनले भने ।

धवलशमशेरलाई राज्यविरुद्धको अपराध मुद्दा

राप्रपाका महामन्त्री एवं सांसद धवलशमशेर राणा पक्राउ परेको पत्र काठमाडौँ प्रहरी परिसरबाट संसद् सचिवालय पुगेको छ । राणालाई राज्यविरुद्धको अपराधसम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

अब उनको सांसद् पद तत्कालका लागि निलम्बनमा पर्नेछ । त्यसपछि सरकारले गर्ने अनुसन्धान र राजनीतिक माहोलले पनि उनको सांसद पद के हुन्छ भन्नेबारे निर्धारण गर्नेछ । शनिबार राणा र मिश्रलाई भेट्न राप्रपाका शीर्ष नेताहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, राप्रपा नेपालका कमल थापालगायत शीर्ष नेताहरू पुगेका थिए ।

शुक्रबारको घटनामा प्रहरी रिपोर्ट

व्यक्तिगत र सरकारी कार्यालय गरी १८ स्थानमा तोडफोड तथा १२ स्थानमा आगजनी, १ ठाउँमा तोडफोडसहित लुटपाट । प्रहरीका ६ वटा, सरकारी कार्यालयका ४, नखुलेका ६, ४ मोटरसाइकल, २ स्कुटर गरी २२ वटा सवारीसाधन जलाइयो ।

प्रतिक्रिया