काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार भएको प्रदर्शनको घटनामा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई २४ घण्टाभित्र छाड्न सरकारलाई अल्टिमेटम दिएको छ ।
शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काउन भूमिका खेलेको आरोपमा मिश्र र राणालगायतका पक्राउ परेका थिए । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई २४ घण्टे अल्टिमेटम माग गरेका हुन् ।
मिश्र र राणालाई रिहा नगरे राप्रपाले देशभर विरोधका कार्यक्रम गर्ने र त्यसलाई आन्दोलनको रूपमा उठाएर लैजाने निर्णय भएको उनले बताए । तीनकुने केन्द्रित राजावादीको प्रदर्शन हिंसात्मक बन्नुमा सरकारकै दोष रहेको बैठकले निष्कर्ष निकालेको छ ।
अध्यक्ष लिङ्देनले भने, ‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहिद घोषणा गर्न सरकारसँग माग गरेका छौँ ।’ शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । त्यसैगरी काठमाडौंका विभिन्न क्षेत्रमा आगजनी र तोडफोडसहित लुटपाट भएको थियो ।
राप्रपाका अध्यक्ष लिङ्देनले सरकारकै लापरवाहीले यो अप्रिय घटना घटेको दाबी गरे । उनले भने, ‘आन्दोलन भएपछि त्यसलाई सुरक्षा दिने र सजगता अपनाउने जिम्मा सरकारको हुन्छ, तर सरकारले नै जबरजस्ती बल प्रयोग गरेको छ, घटना भएकोमा हामीले दुःख व्यक्त गरिरहेका छौँ ।’
प्रतिक्रिया