शुक्रबारको घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन र मृतकलाई सहीद घोषणा गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमा भएको घटनामा मृत्यु भएका दुई जनालाई सहीद घोषणा गर्न र छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेर निश्पक्ष छानबिन गर्नुपर्ने, उचित क्षेतिपूर्ति दिन तथा सम्पूर्ण घाइतेको निःशुल्क उपचार गर्न माग गरेको छ ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले शहीद घोषणा गर्नुपर्ने बताए ।

अध्यक्ष लिङ्देनले भने, ‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहिद घोषणा गर्न सरकारसँग माग गरेका छौँ ।’ शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

त्यसैगरी काठमाडौंका विभिन्न क्षेत्रमा आगजनी र तोडफोडसहित लुटपाट भएको थियो । राप्रपाका अध्यक्ष लिङ्देनले सरकारकै लापरवाहीले यो अप्रिय घटना घटेको दाबी गरे । उनले भने, ‘आन्दोलन भएपछि त्यसलाई सुरक्षा दिने र सजगता अपनाउने जिम्मा सरकारको हुन्छ, तर सरकारले नै जबरजस्ती बल प्रयोग गरेको छ, घटना भएकोमा हामीले दुःख व्यक्त गरिरहेका छौँ ।’

पार्टीको कार्यसम्पादन समितिको बैठकले घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने ठहर गरेको हो । अध्यक्ष लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार नै दोषी रहेको जिकिर गरे ।

प्रतिक्रिया