काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेका छन् । शुक्रबार राजावादीहरुले गरेको प्रदर्शनमा काठमाडौंको तीनकुने क्षेत्रमा सार्वजनिक सम्पत्तीमा क्षति पुर्याएको भन्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना तिर्न मेयर बालेनले पत्र पठाएका हुन् ।
शुक्रबारको प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा सार्वजनिक संरचना जलाएको, भत्काएको तथा महानगरको दमकलमा ढुंगामुडा गरेको लगायतको क्षतिको मूल्यांकन गरि ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाएको महानगरले जनाएको छ । महानगरले विभिन्न ८ वटा शीर्षकमा जरिवाना तोकेको छ ।
एउटा शीर्षकमा १ लाख ३० हजार, ६ वटा शीर्षकमा १–१ लाख र एउटा शीर्षकमा ६३ हजार गरी ७ लाख ९३ हजार रूपैयाँको बिल महानगरपालिकाले निर्मल निवासमा पठाएको छ । तीनकुने वितण्डाको मुख्य दोषी ठहर गर्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो जरिवाना तोकेको हो ।
सिनामंगल क्षेत्रमा सडकपेटीमा जथाभावी फोहोर गरेको, तीनकुनेमा रुखबिरुवा र रेलिङ तोडफोड गरेको, तीनकुने आइल्यान्डमा तोडफोड गरेको, तीनकुनेकै सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको, महानगरपालिकाको दमकलसहित अग्नि नियन्त्रकहरुलाई ढुंगामुढा गरी दमकल फुटाएको लगायतका आरोपमा यो जरिवाना तोकेको महानगरपालिकाले पत्रमा उल्लेख छ ।
शुक्रबार राजावादीहरुको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने काठमाडौंका विभिन्न क्षेत्रमा आगजनी र तोडफोड भएका थिए । यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले १०० जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ । यो घटनामा अझै अनुसन्धान भइरहेकाले थप व्यक्तिहरु पक्राउ पर्न सक्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया