भारतमा माओवादी र प्रहरीबीच लडाइँ

नयाँ दिल्ली । भारत छत्तीसगढको बिजापुर र दन्तेवाडा सीमा क्षेत्रमा विद्रोही माओवादी र प्रहरीबीच रक्तपातपूर्ण लडाइँ भइरहेको छ । बिजापुर र दन्तेवाडा माओवादी विद्रोह प्रभावित क्षेत्र हो ।

पछिल्लो भिडन्तमा भारतीय माओवादीका १ शीर्ष नेता मारिएका त्यहाँको प्रहरीले दाबी गरेको छ । उनीसहित ३ विद्रोही मारिएका भनिए पनि प्रहरीले नाम सार्वजनिक गरिसकेको छैन ।

दन्तेवाडा जिल्लाका पुलिस अधिक्षक गौरव रायले बिबिसी हिन्दीलाई बताएअनुसार, मारिएका विद्रोहीको साथबाट बरामद गरिएको हतियार हेर्दा ती व्यक्ति माओवादीका ठूला नेता हुन सक्छन् ।

प्रहरीले मुडभेड समाप्त भएको, तर खोजी अभियान जारी रहेको जनाएको छ । मारिएका माओवादी विद्रोहीहरूको पहिचान प्रयास भइरहेको पनि उल्लेख गरेको छ ।

पछिल्लो नक्सल अपरेसनमा दन्तेवाडाको डिस्ट्रिक्ट रिजर्ब गार्डका जवान सहभागी छन् । बस्तर इलाकामा ५ दिन अघि मात्रै माओवादी सशस्त्र संघर्षमा लागेका ३० विद्रोही मारिएको प्रहरी दाबी गरेको थियो । भारतीय प्रहरीले विद्रोही प्रभावित क्षेत्रमा निहत्था नागरिकलाई नियन्त्रणमा लिएर हत्या गर्ने र विद्रोही करार गर्ने गरेको आरोप खेपिरहेको छ ।

भारतीय संस्थापनसँग निकट मिडियाहरूका अनुसार पछिल्लो वर्षयता छत्तीसगढमा प्रहरी कारबाहीमा १२५ भन्दा बढी माओवादी विद्रोहीको ज्यान गइसकेको छ । नक्सलवादी–माओवादी विद्रोह भारत सरकार र वामपन्थी सशस्त्र विद्रोही समूहबीच चलिरहेको लामो संघर्ष हो । भारतमा यो संघर्ष सन् १९६७ देखि जारी छ ।

प्रतिक्रिया