जेनेभा । संयुक्त राष्ट्रसंघले गत वर्ष आप्रवासीका लागि सबैभन्दा घातक वर्ष भएको र विश्वभर करिब ९ हजार मानिसको मृत्यु भएको जनाएको छ । यो रोकथाम योग्य भएपनि सहन नसकिने पीडा भएको राष्ट्रसंघले शुक्रबार बताएको छ ।
‘सन् २०२४ मा विश्वभर आप्रवासनका क्रममा कम्तीमा आठ हजार ९३८ जनाको मृत्यु भएको छ,’ संयुक्त राष्ट्रसंघको आप्रवासन निकायले भनेको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का उपनिर्देशक उगोची डेनियल्सले भने, ‘विश्वव्यापी आप्रवासीको मृत्युको बढ्दो संख्याको त्रासदी असह्य र रोकथाम योग्य दुवै छ ।’
डेनियल्सले भने, ‘क्षति विनाशकारी छ तर हरेक मृतक संख्याको पछाडि कही न कही मानवीय कमजोरी नै कारक रहेको छ ।’ आईओएमले भनेको छ, ‘आप्रवासीको मृत्यु र बेपत्ता हुनेको वास्तविक संख्या धेरै बढी हुन सक्छ, किनकि आधिकारिक स्रोतको अभावका कारण धेरै जना कागजातविहीन ठहर भएका छन् ।’
अधिकांश पीडितको पहिचान र अन्य विवरण अज्ञात रहेको बताइएको छ । सन् २०२४ मा एसिया, अफ्रिका र युरोपमा क्रमशः दुई हजार ७ ७८, दुई हजार २४२ र २३३ जनाको मृत्यु भएको थियो ।
युरोप पुग्न चाहनेहरुका लागि मुख्य प्रवेशद्वार भूमध्य सागरमा दुई हजार ४५२ जनाको मृत्यु भएको जनाइएको छ । अमेरिकाको अन्तिम तथ्यांक उपलब्ध नभए पनि अहिलेसम्मको अनौपचारिक तथ्यांक अनुसार कम्तीमा एक हजार २३३ जनाको मृत्यु भएको छ ।
यसमा सन् २०२४ मा क्यारेबियन क्षेत्रमा अत्यधिक ३४१ जनाको ज्यान गएको थियो भने कोलम्बिया र पनामाको बीचमा डेरिएन जंगल पार गर्ने १७४ जना आप्रवासीहरुको मृत्यु रेकर्ड भएको थियो । डारिएन जंगल कुनै समय संयुक्त राज्य अमेरिका पुग्न चाहने मानिसहरूको लागि मुख्य प्रवासी करिडोर थियो ।
प्रतिक्रिया