काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको २ घन्टाभन्दा लामो समयको फोनवार्तामा पुटिनले रुस–युत्रेनबीच ऊर्जा केन्द्रमा आक्रमण नगर्ने सहमति भए पनि यसलाई युक्रेनले अटेर गरेको आरोप लगाएका छन् । युक्रेनले दक्षिणी रुसमा रहेको क्रास्नाडोरको तेल खानीमा आक्रमण गरेको आरोप रुसको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनले ३ वटा ड्रोन प्रहार गरेको जनाएको छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसले आफ्नो ऊर्जा केन्द्रमा आक्रमण नरोकेको आरोप लगाएका थिए ।
मंगलबार ट्रम्प र पुटिनबीच भएको वार्तामा रुस–युक्रेनले एक–अर्काको ऊर्जा केन्द्र र भौतिक संरचनामा प्रहार नगर्ने सहमति भएको हो । सो वार्तामा रुसी राष्ट्रपति पुटिन सर्तसहित सहमत भएका हुन् । तर पनि पूर्ण युद्धविरामका लागि सहमत हुन सकेनन् ।
यसअघि साउदी अरेबियामा युक्रेनसँग ट्रम्पको टोलीले राखेको केही महिनाको युद्धविरामको प्रस्ताव युक्रेनले स्वीकार गरेको थियो । युक्रेन सहमत भएपछि त्यही प्रस्तावमा रुसलाई सहमत गराउन ट्रम्पले प्रयास गरेका हुन् ।
पुटिनले युक्रेनलाई गरिएको बाह्य सैन्य सहयोग रोकेर गुप्तचर सहकार्य नरोकिएसम्म पूर्ण युद्धविरामको विषय अघि नबढ्ने बताएका थिए । युक्रेनका युरोपेली सहयात्रीले यसअघि नै यो प्रस्ताव अस्वीकार गरिसकेका छन् । यी दुवै नेता फेरि मध्यपूर्वमा वार्ता गर्न भने सहमत भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ऊर्जा केन्द्र जोगाउने विषयमा सकारात्मक भए पनि पूरै विवरण नआएसम्म थप प्रतिक्रिया दिन नमिल्ने बताएका छन् । उनले रुसी राष्ट्रपति युद्धविरामको पक्षमा नभएकाले बहाना बनाएको आरोप लगाइरहेका छन् ।
राष्ट्रपति ट्रम्पले भने सामाजिक सञ्जालमा वार्ता सकारात्मक र उत्पादक भएको उल्लेख गरेका छन् । ‘हामी ऊर्जा केन्द्र र भौतिक संरचनामा युद्धविराम गर्दै थप युद्धविरामको विषयमा अघि बढेका छौँ,’ ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले धेरै विषयमा छलफल भएको तथा दैनिक हजारौँ सेना मारिने क्रम रहेको विषयमा पुटिन र जेलेन्स्की दुवै सहमत रहेको बताएका छन् ।
क्रेमलिनले यस विषयमा थुप्रै बुँदामा छलफल आवश्यक रहेको बताउँदै मूल विषय युक्रेनलाई गरिएको सहयोगमा रोक भएको जनाएको छ । ट्रम्पले राखेको लामो समयको युद्धविरामका लागि अर्को चरणको वार्ता जटिल तर टिकाउपूर्ण र लामो समय चल्ने प्रकृतिको हुनुपर्ने रुसले बताएको छ । रुस र अमेरिकाबीचको अर्को द्विपक्षीय वार्ताबारे प्रष्ट भने भएको छैन ।
प्रतिक्रिया