नेपालमा सुनको बजार सुनसान, ह्वात्तै घट्यो बिक्री

दिनानुदिन सुनको भाउले रेकर्ड ब्रेक गर्दै

काठमाडौँ । पछिल्लो समय दिनानुदिन सुनको भाउले रेकर्ड ब्रेक गर्दै गएको छ । विश्व बजारमै सुनको भाउ उकालो लागेसँगै नेपालमा पनि रेकर्ड ब्रेक गर्दै गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ७ दिनमा सुनको भाउ ६ हजारले बढेको छ । २७ फागुनमा सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ९०० रहेकोमा ६ चैतमा सुनको भाउ प्रतितोला १ लाख ७६ हजार पुगेको छ ।

६ चैत बुधबारको दिन सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा ८०० रुपैयाँले बढेर १ लाख ७६ हजार रुपैयाँ पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔँस ३ हजार ३५ अमेरिकी डलरमा कारोबार भयो ।

निरन्तर सुनको भाउ अकासिँदा नेपाली उपभोक्ताले सुन खरिद घटाएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार चैत महिनामा सुन खरिद गर्नेको संख्या ह्वात्तै घटेको छ । नेपाली बजारमा सिजनमा सुनको माग २० किलो भएको बताइन्छ । पछिल्लो एक साता यता देशभरमा दैनिक ७ किलो सुन बिक्री भइरहेको रसाइलीले बताए । उनले भने, ‘चैत महिना बिहेबारीको सिजन पनि नभएको र सुन महँगो भएको कारण व्यवसायीहरू सुन उठाउन पनि डराइरहेको अवस्था छ ।’

केही समय अगाडि सन् २०२५ को मध्यसम्ममा विश्व बजारमा सुनको भाउ ३ हजार डलर पुग्ने आँकलन गरिएकोमा मध्यसम्म नपुग्दै त्यो मेल खान पुग्यो । अब २०२५ कै अन्त्यसम्ममा ३ हजार ५०० डलर पुग्ने आँकलन छ, त्यो आँकलन पूरा भयो भने नेपालमा पनि सुनको भाउ ६ महिनापछि २ लाख पुग्ने सम्भावना रहेको रसाइलीले बताए ।

विश्व बजारमा किन बढ्यो सुनको भाउ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले कार्यभार सम्हाले लगत्तै व्यापार नीति तथा करहरू हेरफेर गरेको कारण सुरू भएको व्यापार–युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार उकालो लागिरहेको छ ।

ट्रम्पले दोस्रो कार्यकालमा अमेरिकाको प्रमुख प्रतिद्वन्द्वी चीनसँग मात्रै नभएर राम्रो सम्बन्ध भएका क्यानडा, मेक्सिको र युरोपेली देशहरूका उत्पादनमा पनि भन्सार महसुल बढाएर व्यापार–युद्ध सुरू गरेका छन् । यसले अमेरिकी सेयर बजारमा पछिल्लो समय भारी गिरावट आएको छ भने अरू देशको सेयर बजारमा पनि केही हदसम्म प्रभाव पारेको छ । यस्तोमा लगानीकर्ताले सेयर र अरू वस्तुभन्दा सुरक्षित हुने भएकाले सुन किन्न थालेका छन ्।

त्यस्तै, केही दिन अगाडि ट्रमले सुनमा १०० प्रतिशत भन्सार लगाउने भन्दै बताएपछि व्यापारीहरूले सुनजति सबै अमेरिकामा लगेर भण्डार गरेकाले सुनको भाउ बढेको बताइन्छ । त्यस्तै, शक्ति राष्ट्रहरूले सुन खरिद गरेर ढुकुटी बढाइरहको कारण भाउ महँगो भएको महासंघका अध्यक्ष रसाइलीले बताए । उनले भने, ‘अमेरिका, चीन, भारत, रुसलगायतका देशहरूले केन्द्रीय बैंकहरूमार्फत सुन खरिद बढाएका छन् । अमेरिकाले लन्डनबाट ठुलो मात्रामा सुन किनेको खबरहरू आएका छन् । जसले गर्दा सुनको भाउ ह्वात्तै बढेको हो ।’

रुस–युक्रेन युद्ध अन्त्य हुने सम्भावना नरोकिने आँकलनले पनि सुन खरिद गर्नेहरू धेरै भएका कारण सुनको भाउ बढेको बताइन्छ । नेपालमा डलर भाउ बढेको कारण वैदेशिक ब्यापारमा प्रभावित भएको बताइन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सामान्यतया ब्याजदर घट्दा र अमेरिकी डलर कमजोर हुँदा बढ्ने मानिन्छ । तर पछिल्ला केही वर्षमा सुन बजारले यो नियमको उल्लंघन गरेको छ । ब्याजदर बढ्दा र डलर बलियो हुँदा पनि सुनको भाउ बढेको छ ।

प्रतिक्रिया