ट्रम्प र पुटिनबीच वार्ता : ३० दिनको युद्धविराममा सहमति, युक्रेनको प्रतिक्रिया अनिश्चित

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे दुई घण्टाभन्दा बढी टेलिफोन वार्ता भएको छ । वार्तामा ३० दिनका लागि युक्रेनको ऊर्जा तथा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति भएको ह्वाइट हाउसले जनाएको छ । यो सम्झौताले शान्ति स्थापनाको पहिलो चरणको संकेत गरे पनि युक्रेनले यस योजनामा साथ दिन्छ वा दिँदैन भन्ने अझै स्पष्ट भएको छैन ।

पुटिनले शान्ति वार्ताका लागि युक्रेनलाई विदेशी सैन्य सहायता पूर्ण रूपमा रोक्नुपर्ने शर्त अघि सारे, जबकि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको प्रस्तावलाई मात्रै कुरा गर्ने प्रयास भएको बताए । ट्रम्पले रुससँग केही सम्पत्ति बाँडफाँडको विषयमा कुराकानी भइरहेको संकेत गरेपछि युरोपेली राष्ट्रहरू चिन्तित भएका छन् ।

वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्ता महत्वपूर्ण चरणमा पुगेको बताए, तर अझै धेरै विषयहरू टुंग्याउन बाँकी रहेको उल्लेख गरे । उता पुटिनले आफ्नो सेना युक्रेनी भू–भागमा निरन्तर अघि बढिरहेको दाबी गर्दै नेटो सेनालाई कुनै पनि हालतमा युक्रेनमा तैनाथ हुन नदिने अडान दोर्याए ।

अमेरिका–युक्रेन विभाजन

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि युक्रेनमा अमेरिकी नीतिमा पूर्ण परिवर्तन आएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना पुटिनसँग कुरा गरेको घोषणा गरेर विश्वलाई चकित पारेका थिए । यसले रुसी सेनाले युक्रेनमा आक्रमण जारी राखेसम्म रुसी राष्ट्रपतिलाई अलग्याउने पश्चिमी प्रयासहरुलाई तोडेको थियो ।

त्यसयता उनले रुसी राष्ट्रपतिसँग धेरै पटक कुरा गरेका छन् । पुटिनका लागि उनले विगतमा बारम्बार प्रशंसा व्यक्त गरेका थिए । यद्यपि कुनै पनि वार्ताको औपचारिक रूपमा घोषणा गरिएको थिएन ।

ट्रम्पका विशेष दूत स्टिभ विटकफले संयुक्त युद्धविराम योजनाको विवरण प्रस्तुत गर्न गत बिहीबार मस्कोमा पुटिनसँग तीन घण्टा वार्ता गरेका थिए । उक्त योजनाले युद्धमा ३० दिनको विरामको परिकल्पना गर्दछ ।

तर वासिङ्टनको मस्कोसँगको सम्बन्ध सुधार हुँदा युक्रेनसँगको सम्बन्ध निकै जटिल बनेको छ। ट्रम्पको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग फेब्रुअरी २८ मा ओभल अफिसमा विवाद भएको थियो ।

उक्त विवादका कारण संयुक्त राज्य अमेरिकाले किएभलाई दिने अर्बौँ डलरको सैन्य सहयोग अस्थायी रुपमा निलम्बन गर्न पुग्यो । जेलेन्स्की पछि युद्धविराम योजना र संयुक्त राज्य अमेरिकालाई युक्रेनको दुर्लभ खनिज भण्डारमा प्राथमिकताको पहुँच दिने सम्झौता दुवैमा सहमत हुन बाध्य भए ।

प्रतिक्रिया