हमासले युद्धविराम लम्ब्याउन नमानेपछि इजरायलले फेरि गर्याे गाजामा आक्रमण, ३०० जनाभन्दा बढीको मृत्यु

काठमाडौं । इजरायली लडाकु विमानहरुले गाजाका विभिन्न भागमा जनवरीमा युद्धविराम सुरु भए यताकै ठूको हवाई आक्रमण गरेका छन् । गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा परेर कम्तीमा ३३० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उक्त भू–भागमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वफा पनि रहेको बताइएको छ । उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरुलाई पनि निसाना बनाइएको थियो । इजरायलले हवाई आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनसँग छलफल गरेको ह्वाइट हाउसकी एक प्रवक्ताले फक्स न्यूजलाई बताएकी छन् ।

एक इजरायली अधिकारीले इजरायल सरकारले अमेरिकालाई हमला गर्नुअघि त्यस विषयमा जानकारी दिएको पुष्टि गरेका छन् । एउटा विज्ञप्तिमा इजरायलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले उक्त समूहका निसानाहरुमा आक्रमण गरिरहेको बताएको छ ।

उक्त प्यालेस्टिनी समूहले सोझै दोस्रो चरणको युद्धविराममा जानुपर्ने धारणा राख्दै आएको थियो । हमासलाई दबाव दिन इजरायलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ ।

हमासले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्धविराम सम्झौता उल्ट्याएको आरोप लगाएको छ । उसले सो हमलाले बाँकी इजरेली बन्धकको भविष्यलाई अन्योलपूर्ण बनाएको पनि जनाएको छ। युद्धविराम लम्ब्याउन हमास तयार नभएको भन्दै इजरेलले पछिल्लो आक्रमण गरेको हो ।

के भन्छ इजरायल ?

एक इजरायली अधिकारीले उक्त आक्रमण आवश्यक रहुन्जेल जारी रहने र हवाई हमलामा मात्रै सीमित नरहने बताएका छन् । इजरायलले गाजा नजिकैका विद्यालयहरू हवाई आक्रमणपछि आफूले बन्द गरेको जनाएको छ । एउटा विज्ञप्तिमा इजरायल डिफेन्स फोर्सेसले आफूले हमासका आतंकवादी निसानाहरुलाई लक्ष्य गरेर आक्रमण गरिरहेको जनाएको छ ।

यो जनवरीमा युद्धविराम सुरु भए यताकै सर्वाधिक ठूलो आक्रमण हो । मध्यगाजामा तीनवटा घरमा हमला गरिएको छ भने गाजा सिटीको एउटा भवन तथा खान युनिस र रफाहका विभिन्न स्थानमा पनि हमला भएको प्रत्यक्षदर्शी र स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले जनाएको छ ।

जनवरी १९ मा युद्धविराम आरम्भ भएयता इजरायलले गाजामाथि गरेको हवाई आक्रमणको यो सबैभन्दा ठूलो शृङ्खला हो । युद्धविरामलाई लम्ब्याउन भइरहेका वार्ता सहमतिमा पुग्न विफल भएका छन् । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र रक्षामन्त्री इजरायल कात्सले मंगलबार बिहान आक्रमणको आदेश दिएको त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

‘हमासले हाम्रा बन्धक रिहा गर्न बारम्बर अस्वीकार गर्नुका साथै अमेरिकी राष्ट्रपतिका दूत स्टीभ विट्कफ र मध्यस्थकर्ताका सबै प्रस्तावहरू अस्वीकृत गरेपछि यस्तो गरिएको थियो,’ विज्ञप्तिमा लेखिएको छ । ‘अब उप्रान्त इजरेलले थप सैन्य शक्तिसहित हमासविरुद्ध कदम चाल्ने छ ।’

इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार हवाई हमलाका योजना इजरेली सैन्य बलले सप्ताहान्तमा प्रस्तुत गरेको थियो र त्यसलाई राजनीतिक नेतृत्वले अनुमोदन गरेको थियो । रमदानको पवित्र महिनाको समयमा बिहानै मानिसहरूले भोजन गरिरहँदा गाजामा विस्फोटन सुरु भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार २० वटाभन्दा बढी लडाकु विमानहरू आकाशमा उडेका थिए । तिनले गाजा सिटी, रफाह र खान युनिसका विभिन्न स्थानमा आक्रमण गरेका थिए ।

किन लम्बिन सकेन युद्धविराम ?

मार्च १ मा समाप्त भएको पहिलो चरणको अस्थायी युद्धविरामपछि वार्ता गरेर अगाडिको बाटो पहिल्याउने प्रयास भएको छ । संयुक्त राज्य अमेरिकाले मध्यएप्रिलसम्म पहिलो चरणको युद्धविरामलाई लम्ब्याउन प्रस्ताव गरेको थियो ।

उसले उक्त अवधिसम्म हमासले बन्धक बनाएका व्यक्तिहरू र इजरेलले बन्दी बनाएका प्यालेस्टिनीहरुको थप आदानप्रदान उक्त अवधिमा गर्नुपर्ने विषय पनि आफ्नो प्रस्तावमा राखेको थियो । तर वार्तासँग जानकार एक प्यालेस्टिनी अधिकारीले इजरायल र हमासले अप्रत्यक्ष वार्ताका क्रममा विट्कफले अघि सारेको मूल पक्षमा नै असहमति जनाएको उल्लेख गरेको छ ।

इजरायल र हमासबीचको पछिल्लो लडाइँ अक्टोबर ७, २०२३ मा सुरु भएको थियो । हमासले त्यस बेला दक्षिण इजरेलमा १२०० भन्दा बढीको हत्या गरेको थियो । तीमध्ये अधिकांश सर्वसाधारण थिए । हमासले २५१ जनालाई बन्धक बनाएको थियो ।

उक्त आक्रमणपछि इजरायलले सैन्य कारबाही थालेको थियो । त्यस क्रममा हालसम्म ४८,५०२ जनाभन्दा बढीको मृत्यु भएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा अधिकांश गैरसैनिक छन् ।

गाजाको २१ लाख जनसंख्या कैयौँ पटक विस्थापित भएको छ। त्यहाँका करिब ७० प्रतिशत भवन क्षतिग्रस्त भएका छन् वा भग्नावशेषमा परिणत भएका छन् भने स्वास्थ्य सेवा, पानी र सरसफाइ प्रणाली ध्वस्त भएको छ । मानिसहरुले खानेकुरा, इन्धन, औषधि र आवासको अभाव खेपिरहेका छन् ।– बीबीसी

प्रतिक्रिया