बिनासर्त युद्धविराम स्वीकार्न नसकिने रुसी पक्षको प्रतिक्रिया

३० दिने युद्धविरामको प्रस्ताव बोकेर ट्रम्पका विशेष दूत रुसमा

काठमाडौँ । युक्रेनसँग ३० दिनको युद्धविरामबारे छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफसहितको टोली रुस पुगेको छ । केही दिनअघि साउदी अरेबियामा युक्रेन र अमेरिकाबीच भएको छलफलमा ३० दिनको युद्धविरामबारे सहमति भएको थियो । सोही सहमतिमा रुसलाई पनि मनाउने अमेरिकाको तयारी छ ।

अमेरिकाबाट पाउँदै आएको सहयोगले निरन्तरता पाउने भएपछि युक्रेनले रुससँगको युद्धविराम प्रस्तावमा सहमति जनाइसकेको छ । अब यो प्रस्तावमा रुसलाई पनि मनाउनुपर्नेछ । यसैका लागि अमेरिकी प्रतिनिधिमण्डल रुसमा छ । तर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका एक उच्च सहयोगीले भने रुस–युक्रेन युद्धविरामका लागि अमेरिकी–युक्रेनी प्रस्ताव आफूहरुलाई अस्वीकार हुने बताएका छन् । पुटिनका निकट मानिएका युरी उसाकोभले नै यस्तो अभिव्यक्ति दिएपछि रुससँगको अमेरिकी वार्ताबारे विभिन्न आकलन सुरु भएको छ ।

युद्धविरामको प्रस्तावको आलोचना गर्दै उसाकोभले एक सञ्चारमाध्यमसँग भने, ‘यो युक्रेनी सेनाका लागि ‘राहत’ मात्र हो ।’ रुस पक्षको यो अडान कायम रहने हो भने तत्काल युद्धविराम रोकिने त छैन नै, अमेरिकासँग सेलाउँदै गएको रुसको सम्बन्ध फेरि चिसिने पक्का छ । साथै, युक्रेनलाई फकाएर त्यहाँको दुर्लभ खनिजमा आफ्नो प्रभुत्व जमाउने राष्ट्रपति ट्रम्पको चाहनामा पनि धक्का पुग्ने देखिन्छ ।

पुटिनका सहयोगीले ३० दिने युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिक्रिया सार्वजनिक गर्दै रुसले युद्ध लम्ब्याउने प्रयास गरिरहेको बताएका छन् । युक्रेनसँग भएको युद्धविराम सम्झौतालाई रुसी पक्षबाट पनि लालमोहर लगाउन अमेरिकी प्रतिनिधिमण्डल रुस प्रस्थान गर्दै गर्दा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा नेटो प्रमुख मार्क रुटेसँग गरेको भेटलाई पनि महत्वका साथ हेरिएको छ । अमेरिकाले रुससमक्ष बिनासर्त युद्ध रोक्न दबाब दिइरहेका बेला एक पटक फेरि ३० दिनको युद्धविराम प्रस्ताव लिएर अमेरिका रुस पुगेको हो ।

तर, रुसी राष्ट्रपति पुटिन स्वयं पनि बिनासर्त युद्धविराम चाहँदैनन् । रूसले आंशिक रूपमा कब्जा गरेका दक्षिण–पूर्वी क्षेत्रहरू र क्रिमियन प्रायद्वीपलाई युक्रेनले मान्यता दिनुपर्ने, ती क्षेत्रबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र कहिल्यै नेटोमा सामेल नहुने प्रतिबद्धता व्यक्त गर्नुपर्ने जस्ता माग पुटिनले अघि सार्दै आएका छन् ।

प्रतिक्रिया