होटलको क्षमता ३५ लाख, पर्यटक ११ लाख

भारतीय सीमा क्षेत्रको होटल वा लजमा बसेर दिउँसो एकैछिन नेपाल घुमेर बास बस्न भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मालम्बीहरू) लाई हामीले पर्यटक मान्ने कि नमान्ने ? खास गरी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न एक छिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी पर्यटकहरूलाई हामीले पर्यटकको सूचीमा राख्ने कि नराख्ने ?

निनाम लोवात्ती

सरकारको तथ्यांकअनुसार नेपाली पर्यटन क्षेत्रमा २ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको लगानी भइसकेको छ । यसमध्ये लगभग ९० प्रतिशत लगानी होटल क्षेत्रमा भएको छ । आर्थिक वर्ष २०७९–०८० मा मात्र होटेल क्षेत्रमा लगभग २० अर्ब रुपैयाँ लगानी भएको थियो ।

तत्कालीन कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई नेपाल उद्योग महासंघअन्तर्गत रहेको पर्यटन तथा हवाई यातायात समितिको प्रतिनिधिहरूले भेटेर नेपालका तारे होटलहरूलाई उच्च प्राथमिकतामा राखेर उद्योग सरहको मान्यता र सेवा सुविधा दिनुपर्ने माग राखेका थिए । गुरुङले पनि सो प्रतिनिधिहरूलाई उनीहरूका माग पूरा गर्ने आश्वासन लिएका थिए । केही समयअघि वर्तमान सरकारले अध्यादेशमार्फत ल्याएको कानुनमा होटल क्षेत्रलाई पनि उद्योगसरह मान्यता दिने व्यवस्था गरिएको छ । जुन अध्यादेश भर्खरै दुवै संसद्बाट पारित भइसकेको छ ।

२०८१–०८२ मा मात्रै नेपालमा १७ वटा नयाँ पाँचतारे होटल थपिनेवाला छन् । अब नेपालमा नयाँ थपिएका पाँचतारे होटल र पहिलेदेखि नै सञ्चालन हुँदै आएका ३६ वटा पाँचतारे होटलको बेड संख्या ५ हजार २३४ वटा पुग्ने छ । यसरी थपिएका पाँचतारे होटल र होटलको बेड संख्याले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरू जो ‘लक्जरी’ तथा ‘डिलक्स’ सेवा सुविधा उपभोग चाहन्छन्, त्यस्ता विदेशी पर्यटकहरूका लागि प्रशस्त बेड संख्या र सेवा सुविधा उपलब्ध हुने देखिन्छ । विश्वले होटलका साथै समग्र पर्यटन क्षेत्रलाई ‘धुवाँरहित उद्योग’को मान्यता दिएको छ ।

सामान्यतया पर्यटन उद्योग भन्नाले होटल, मोटेल स्मरणीय छ, नेपालमा हालसम्म मोटेल नभएको जस्तो लाग्छ, यो पंक्तिकारलाई । त्यस्तै गरेर कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होम स्टेका साथै पदयात्रा, पर्वतारोहण, जलयात्रा, जमेको हिउँ जो नीलो ढिक्का चढ्ने (आइस क्लाइम्बिङ गर्ने), निकुञ्ज पर्यटन, बन्जी जम्पिङ, क्यानोइङ, स्की खेल, बर्ड वाचिङ, फिसिङ, सिकार पर्यटन, हट एयर बेलुनिङ, जिप प्mलाइएर, चट्टान आरोहण, स्काई वाक, कायाकिङ, साइक्लिङ, जंगल सफारी, मोटर ड्राइभिङ, बाइकिङ, हाइकिङ, स्काई डाइभ, माउन्टेन प्mलाइट, कल्चरल टुर, मेडिकल टुर, ध्यान–योग पर्यटन, गाउँ अवलोकन भ्रमण, एकल जातीय वस्ती भएका गाउँहरूको भ्रमण, प्राचीन सहर, स्मारक, किल्ला, सांस्कृतिक सम्पदा, युद्घस्थलको भ्रमण, चरा अवलोकन, पुतली अवलोकन, जंगली जनावरको अवलोकन आदिलाई बुझिन्छ ।

नेपाली पर्यटनको मेरुदण्डको रूपमा रहेको होटेल क्षेत्रलाई सरकारले उद्योगको मान्यता दिएको हुनाले अब सोहीअनुसारको सहुलियतहरू होटलका सञ्चालकहरूलाई उपलब्ध गराउनु पर्छ । निजी प्रयासमा नेपालमा पर्यटकस्तरीय होटल, थपिने क्रम बढ्दो छ । कुनै पनि मान्छे आप्mनो देश छाडेर दोस्रो देश जाने बित्तिकै सबैभन्दा पहिले बस्ने व्यवस्था हुनु जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? भन्ने चिन्ता गर्छ । यस्तो खालको भ्रमणमा निक्लने मान्छेलाई नै पर्यटक मान्ने गरिन्छ । अर्को महत्वपर्ण कुरो के भने, जसले आप्mनो घर वा देश छाडेर एक रात एक दिन (२४ घण्टा) बाहिर गएर संयुक्त राष्ट्र संघसँगको मातहत रहेको ‘विश्व पर्यटन संगठन’ को मान्यता रहेको छ ।

भारतीय सीमा क्षेत्रको होटल वा लजमा बसेर दिउँसो एकैछिन नेपाल घुमेर बास बस्न भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मालम्बीहरू) लाई हामीले पर्यटक मान्ने कि नमान्ने ? खासगरी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न एक छिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी पर्यटकहरूलाई हामीले पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? यस बारेमा हामीले गम्भीर भएर सोच्ने दिन पनि आइसकेको छ ।

विशेषतः होटल क्षेत्रको कुरो गर्दा (कोभिड–१९) को महामारीअघि ‘दिन दुई गुणा रात चौ गुणा’ले उन्नति वा भनौँ प्रगति भइरहेको थियो । कोभिडमा थला प¥यो । कोभिड–१९ पछि, सन् २०२३ म मा १० लाख १४ हजार ८७६ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेको तथ्यांक रहेको थियो भने सन् २०२४ मा ११ लाख ४७ ५६७ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेको पछिल्लो तथ्यांकमा जनाइएको छ । पर्यटकस्तरीय होटलका सञ्चालकहरूको मागचाहिँ के रहेको देखिन्छ भने ‘काठमाडाँै, ललितपुर, भक्तपुरलगायत सुविधा सम्पन्न सहर–बजार क्षेत्रमा ‘होस्टेल’ र ‘होम स्टे’ चलाउन दिनु हुँदैन । अब यो कुरोलाई पनि नीतिगत तहमा बसेकाहरूले सम्बोधन गर्नुपर्ने बेला आएको देखिन्छ ।

नेपाली पर्यटन क्षेत्रमा वार्षिक रुपमा ३५ लाख जनालाई बेड सेवा दिन सक्ने क्षमता विकास गरिसकेको छ । स्मरण रहोस्, यो तथ्यांक आर्थिक वर्ष २०८०÷०८१ सम्मको मात्रै हो । आर्थिक वर्ष २०८१÷०८२ मा लगभग १ हजारको संख्यामा बेड संख्या बढ्नेवाला छ । तैपनि नेपालमा विदेशी पर्यटक आगमन भने वार्षिक लगभग १२ लाखभन्दा माथि पुग्न नसकेको अवस्था छ ।

पर्यटक घुम्न जाँदा पहिलो आवश्यकताका रूपमा रहेको होटल, कटेज, लज, घरबास (होमस्टे) गेस्ट हाउस, होस्टल आदि आवश्यकताभन्दा दुईतिहाइ बढी संख्यामा उपलब्ध रहेको छ । भनाइको मतलब अहिले नेपालमा जति पनि होटल, कटेज, लज, घरबास (होमस्टे) गेस्ट हाउस, होस्टल तयारी अवस्थामा रहेको छ, त्यसको एकचौथाइ मात्रै प्रयोग हुन सकेको देखिन्छ ।

प्रतिक्रिया