बागमती प्रादेशिक ललितकला प्रदर्शनीमा २०९ कलाकारका २३९ कलाकृति

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमवारबाट सुरु भएको ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ चलिरहेकाे छ । फागुन ४ गते गण्डकीबाट सुरु भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ क्रमशः फागुन ६, ८, १०, १६, १८ गते कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, कोसी र मधेस प्रदेशमा सम्पन्न भई बागमति प्रदेशमा गरिएको हो ।

प्रदर्शनीको प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले उद्घाटन गरेका हुन् । समारोहमा नेपाली ललितकला क्षेत्रमा योगदान दिएका कलाकारहरू जुलुमलाल चित्रकार, भोला पौड्याल, शारदामान श्रेष्ठ, सुषमा राजभण्डारी, धर्मबहादुर तामाङ, सुनिता राणा, सरिता डङ्गोललगायतलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा प्रतिष्ठानबाट प्रकाशित विज्ञसमीक्षित अनुसन्धानमूलक शोधपत्रिका ‘ललितकला प्रज्ञा’को समेत विमोचन गरिएको थियो ।

प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका पूर्वकुलपति मानन्धरले विभिन्न प्रदेशमा भएको प्रदर्शनीको प्रशंसा गर्दै किसानले माटाको पहिचान गरेर अन्न उत्पादन गरेझैँ कलाकारले पनि आफ्नो माटोलाई चिनेर कला र कलाकारिता गर्नुपर्ने बताए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सामाजिक रूपान्तरण ललितकलाको अभियानको मूल भावमा रही आयोजना गरिएको प्रदर्शनीले प्रदेशको ललितकलाका उत्थानमा थप सहयोग गर्ने बताए । उनले कला र कलाकारको धनी बागमती प्रदेशमा ललितकलाको खोज तथा अनुसन्धानका थप काम गर्नुपर्ने धारणा राखे ।

उपकुलपति तथा बागमती प्रदेश समन्वय समितिका संयोजक लालकाजी लामाले कलाका क्षेत्रमा प्रादेशिक प्रदर्शनीले ललितकला क्षेत्रको पुनर्जागरण गराएको र जरैसम्म पुगेर रैथाने कला, सिपलाई थप उजागर गराउनुपर्ने धारणा राखे ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले प्रतिष्ठानको रणनीतिक योजनामुताबिक प्रादेशिक ललितकला प्रदर्शनी गरिएको र यसले हाम्रा मौलिक कला, शैली, शिल्प, ज्ञानलाई उत्थान तथा प्रवर्धन गर्न सहयोग गर्ने बताए ।

रैथाने सिप र कलाको पुस्तान्तरण हुनुपर्ने बताउँदै उहाँले कला र कलाकारको रचनात्मक सिर्जनशील विकासमा जोड दिए । ललितकला क्याम्पस भोटाहिटीका प्रमुख डा.यामप्रसाद शर्माले प्रदेश प्रदर्शनीले त्साह थपेको र कलाकारले विविध कलालाई विभिन्न रूपमा देखाएको बताए ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति के.के कर्माचार्य, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’, प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य, प्राज्ञ सभा सदस्य, अग्रज कलाकार, संस्कृतिकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, कलाकारलगायतको उपस्थिति रहेको थियो ।

प्रदर्शनीमा प्रदेशका २०९ कलाकारका २३९ कलाकृति राखिएका छन् । चैत १ गतेसम्म चल्ने प्रदर्शनीको क्युरेटिङ प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुन्दर सिंख्वालको संयोजनमा रजनी सिंख्वाल र सविना तामाङले गरेका हुन् । प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।

प्रतिक्रिया