‘राजागंज’ को सेन्सर पास

काठमाडौँ । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ को सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले केही दृश्य सम्पादन पश्चात ‘युनिभर्सल’ सर्टिफिकेटसहित प्रदर्शन गर्न अनुमति दिएको हो । बुधबार फिल्ममा समावेश केही दृश्य र संवादमा आपत्ती जनाउँदै सच्चाएर ल्याउन सेन्सर बोर्डले भनेको थियो । फिल्मको १ चैतमा रिलिज हुने जनाइएको छ । केन्द्रीय चलचित्र जाँच समितिले सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको भाषणको दृश्य समेटेकामा आपत्ति जनाउँदै यस फिल्मलाई प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो । केही वर्षअघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘रुखबाट झरेका केही आँप’को संज्ञा दिएका थिए ।

दीपक रौनियार निर्देशित यस फिल्ममा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठलगायत अभिनय छ । यो फिल्म भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता विश्वका ठूला सिनेमा महोत्सवमा सहभागी भइसकेको छ । यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका ९ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । सत्य घटनाबाट प्रेरित रहेको ‘राजागंज’ले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका २ बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अपरेसनको कथा उठाएको छ ।

फिल्मको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बाँसुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

प्रतिक्रिया