काठमाडौँ । हङकङमा बसोबास गर्दै आएकी लेखक बालिका बान्तावाको उपन्यास ‘प्याउली’ लोकार्पण भएको छ । कलरव धरान प्रकाशक रहेको उक्त कृतिको शनिबार काठमाडौँमा साहित्यकार उषा शेरचन, समालोचक बिन्दु शर्मा, सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा र लेखक बान्तावाले लोकार्पण गरेका छन् । उपन्यासकार बान्तावाले आफूभित्र रहेका उकुसमुकुस पोख्ने माध्यम खोज्दा यो किताबको जन्म भएको सुनाइन् । पुस्तकमा आफैँ प्रमुख पात्र भएर आएको उनको भनाइ थियो ।
आख्यानकार शेरचनले ‘प्याउली’ सफल रहेको बताइन् । कवि तथा समीक्षक शर्माले यो उपन्यास लेखकको जीवन–कथामा आधारित रहेको सुनाइन् । जीवन–कथात्मक उपन्यासमा आत्मकथा र आख्यानको भेद अति मसिनो हुने उनको भनाइ थियो । कवि तथा पत्रकार तुम्खेवाले यो किताब आफ्नो सिद्धान्तलाई एक ठाउँमा थन्क्याएर हृदयबाट पढ्नुपर्ने बताइन् । कमै लेखकले मात्र आफूले बाँची ल्याएको जीवनलाई जस्ताको तस्तै रूपमा राख्ने हिम्मत गर्ने उनको भनाइ थियो ।
प्रकाशकका अनुसार एक निडर, स्वाभिमानी र आत्मनिर्भर महिलाको जीवन संघर्षको कथा हो ‘प्याउली’ । ‘यस उपन्यासमा एक महिलाले भोग्नुपरेको जीवनका उकाली–ओरालीहरू छन् । सम्बन्धहरूले दिएका सास्ती, हैरानी र ऐँठनहरू छन् । प्रेम, वियोग र सुस्केराहरू छन् ।
प्रतिक्रिया