काठमाडौँ । सिस्नुपानी नेपालका संस्थापक सदस्य ‘सिस्ने काइँला’ देवीप्रसाद घिमिरे सम्मानित भएका छन् । नारी स्रष्टा समाज, कोसी प्रदेशले उनलाई ‘अक्सिजन कवि धनकुटे बालकृष्ण लक्ष्मी अधिकारी पुरस्कार–२०८१’ बाट सम्मानित गरेको हो । बिहीबार कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, समाजकी अध्यक्ष ममता मृदुल, संस्थापक विन्दु अधिकारी ढकाल, सचिव रञ्जना पराजुली लम्साललगायतले पुरस्कार राशिसहित सम्मान पत्र प्रदान गरे ।
राष्ट्रिय पाठ्यपुस्तक लेखक, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका घिमिरे विगत लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय छन् । उनीसहितको समूहले स्थापना गरेको सिस्नुपानी नेपाल नेपालको हास्यव्यंग्य क्षेत्रमा चर्चित छ ।
यस्तै, कार्यक्रममा स्थिति लम्साल बालस्रष्टा पुरस्कार सिल्भिया खड्कालाई प्रदान गरिएको छ भने नेपाली साहित्यमा क्रियाशील ६ जना नारी स्रष्टाहरू रञ्जु खनाल, लता केसी, कालिका त्रिपाठी, मन्दिरा मधुश्री, सविता शर्मा र नवीना श्रेष्ठलाई पनि नारी स्रष्टा सम्मान प्रदान गरिएको थियो ।
समानित हुने व्यक्तित्वहरूले आफूलाई सम्मानका लागि लायक सम्झिएकामा आभार व्यक्त गर्दै साहित्य सिर्जनामा अझै जिम्मेवारीबोध भएको धारणा राखेका थिए ।
प्रतिक्रिया