एउटा कुलमान लखेटिए हजारौँ कुलमान ल्याउने सांसद मनिष झाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले कार्यसम्पादनको मूल्यांकनमा शून्य अंकमा राखेपछि आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद झाले आकस्मिक समयमा बोल्दै प्राधिकरणलाई कार्यकारी निर्देशक घिसिङले नाफामा ल्यारहेको बेला अनेक बहाना गरेर उनलाई हटाउन लागेको भन्दै आपत्ति जनाएका हुन् ।

आफ्ना मान्छे भर्ती गर्ने बहानामा घिसिङलाई अनेक बहाना बनाएर हटाउन लागेको भन्दै एउटा कुलमान लखेटिए भने हजारौँ कुलमान ल्याउने भन्दै सरकारलाई चेतावनी दिए ।

रास्वपा कार्यबाहक प्रवक्तासमेत रहेका सांसद झाले भने, ‘हामी सार्वजनिक संस्थामा राजनीतिक नियुक्तिको उपज के हुन्छ भन्ने देखिरहेका छौँ । कुलमान घिसिङ जस्तो कम्पनीलाई फाइदामा पुर्याउनेलाई मूल्याकंन जिरोमा गर्छौँ, विभिन्न बहानामा कार्यकर्ता भर्ती गर्न पाएन भनेर उसलाई हामी निष्कासनको बहानाबाजी गरिरहेका छौँ ।’

उनले खबरदारी नै जारी गर्दै अघि भनेका छन्, ‘खबरदार भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखेट्यो भने हामी हजारौं कुलमान लिएर आउनेछौँ ।’ कार्यकारी निर्देशक घिसिङलाई सरकारले कार्यसम्पादनको मूल्यांकनमा शून्य अंकमा राखेको छ ।

प्रतिक्रिया