पूर्ण बहादुरको ‘जनै हराएको बाहुन’ भदौमा

काठमाडौँ । २०८१ सालको हिट फिल्म, ‘पूर्णबहादुरको सारंगी’ का नायक विजय बराल सहायक भूमिकामा रहेका फिल्म प्रदर्शनमा आइरहेका छन् । प्रदर्शनरत फिल्म ‘लाज शरणम्’मा पनि विजय सहायक भूमिकामा छन् । १ चैतबाट प्रदर्शनमा आउने फिल्म ‘राजागंज’मा पनि विजय सहायक भूमिकमा छन् । यी सबै फिल्म विजयले ‘पूर्णबहादुरको सारंगी’ हिट हुनुभन्दा पहिला नै गरेका हुन् ।

‘पूर्णबहादुरको सारंगी’ पश्चात उनलाई केन्द्रीय भूमिकाका लागि प्रस्ताव आउने गरेको छ । उनले २ फिल्म ‘वरिष्ठ बलराम’ र ‘जनै हराएको बाहुन’लागि कागजी सम्झौता गरेका छन् । यी दुवैको प्रदर्शन मिति तोकिएको छ । विजय र नायक दयाहाङ राई केन्द्रीय भूमिकामा रहेको फिल्म ‘वरिष्ठ बलाराम’ आगामी लक्ष्मी पूजालाई तोकिएको छ । जुन फिल्मको छायांकन सुरु भइसकेको छ ।

विजयको अर्को फिल्म ‘जनै हराएको बाहुन’को छायांकन सुरु भएको छैन । यसको प्रदर्शन मिति भने १० भदौलाई तोकिएको छ । निर्माण पक्षका अनुसार यो फिल्मको छायांकन चैत अन्तिम साताबाट सुरु हुनेछ । पूर्वनिर्धारित समयमै छायांकन सुरु भएको अवस्थामा दर्शकले विजय केन्द्रीय भूमिकामा रहेको दोस्रो फिल्मका रूपमा ‘जनै हराए बाहुन’ हेर्न पाउनेछन् । विजयको यो फिल्म र केदार घिमिरे ‘माग्ने बुढा’ केन्द्रीय भूमिकामा रहेको फिल्म ‘माग्ने राजा’ प्रदर्शन मिति एकै दिन तोकिएको छ । यी दुवै फिल्म पूर्वनिर्धारित मितिमा प्रदर्शन आए हलमा यी २ को प्रतिस्पर्धा हुने देखिन्छ ।

‘जनै हराएको बाहुन’मा विजय र मनिष राउत फाइलन भएका छन् । फिल्मका अन्य कलाकार चयनको काम भने अझैँ बाँकी रहेको बुझिएको छ ।
पेपरक्लिप प्रालि ब्यानरमा बन्ने यस फिल्मको लेखक भानुभक्त ढकाल हुन् । हिमाल न्यौपानेले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् । त्यस्तै, फिल्म ‘माग्ने राजा’को छायांकन फागुन १४ बाट सुरु भइसकेको छ । यस फिल्ममा केदारसहित नायिका वर्षा सिवाकोटी, कलाकार विल्सनविक्रम राई, शिशिर वाङ्देल, मिस पबी, पुस्कर गुरुङ लगायतको अभिनय रहेको छ ।

यस फिल्मका लेखक सामिप्यराज तिमल्सेना हुन् । निर्देशक भने ऋषि लामिछाने हुन् । आरम्भ प्रडक्सनको प्रस्तुतिमा बन्ने यस फिल्मका निर्माता मुनाल घिमिरे हुन् ।

प्रतिक्रिया