‘जनता’मा हिँडेको माओवादीलाई ‘राजा’को डर !

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना वक्तव्यलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) भित्र खैलाबैला मच्चिएको छ । राजाले अतिरिक्त सक्रियता बढाएको विश्लेषण गर्दै माओवादीले पार्टीको औपचारिक बैठकमा छलफलको एजेन्डा नै बनाएको छ ।

पूर्वराजा शाहले दिएको वक्तव्यको सम्बन्धमा माओवादी केन्द्रका नेताहरूले सार्वजनिक रूपमा सतही टिप्पणी मात्रै गरेका छन् । तर, सोमबार बसेको पदाधिकारी बैठकमा सोही विषयमा छलफल भयो । नेताहरूले राजाको वक्तव्यलाई गम्भीरतापूर्वक लिनुपर्ने र उनको सक्रियतालाई खेलाँची ठान्नु नहुनेमा जोड दिएका छन् । नेताहरूले राष्ट्रिय राजनीतिमा देखापरेका पछिल्ला परिवेशहरूलाई पार्टीले नजिकबाट हेरेर सोहीअनुरुप अघि बढ्नुपर्ने बताएका छन् ।

के छ पूर्वराजाको वक्तव्यमा ?

गत फागुन ७ गतेको ७५औँ प्रजातन्त्र दिवसमा पूर्वराजा शाहले १० मिनेट लामो भिडियो वक्तव्य दिएका थिए । वक्तव्यमा उनले प्रजातान्त्रिक व्यवस्था नै उत्तम व्यवस्था भएको उल्लेख गर्दै निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो नबनाउने बताएका थिए । पक्ष, विपक्षको अहंकार, आ–आफ्नै खालको स्वार्थ तथा हठवादले प्रजातन्त्रलाई गतिशील नबनाउने उनको भनाइ थियो । देशको इतिहास मेटिँदै गएको र नेपालको अस्तित्व नै मासिँदै गएको भन्दै उनले देशको दुरवस्थाका कारण नागरिक बिदेसिनुपरेको अवस्था रहेको बताएका थिए । व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद् रहेको उनको भनाइ थियो ।

पूर्वराजा शाहले आफूले जनताको भलोका लागि राजगद्दी र सुखसुविधा त्यागेको भन्दै त्यसलाई कमजोरी नठान्न चुनौती दिएका थिए । भिडियो वक्तव्यको अन्तिममा पूर्वराजाको सन्देश थियो, अब राष्ट्र जोगाउन मलाई साथ दिनुहोस् । त्यो समय आएको पनि उनको जिकिर थियो ।

‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’ उनले भनेका थिए, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ ।’

के भयो माओवादी बैठकमा ?

गत फागुन १२ गतेदेखि जनतासँग माओवादी तराई–मधेस जागरण अभियान सञ्चालन गरिरहेको माओवादी केन्द्रले अभियानको दौरान पहिलो पटक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा पदाधिकारी बैठक राखेको थियो । बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव मातृका यादव, उपमहासचिव गिरिराजमणि पोखरेल र सचिवहरू दीनानाथ शर्मा, गणेश शाह, राम कार्कीलगायत अनुपस्थित थिए ।

उपमहासचिव शक्ति बस्नेत पनि बुबाको निधन भएका कारण बैठकमा अनुपस्थित थिए । बैठकमा पूर्वराजाको सक्रियताको विषयले चर्चा पाएको छ । सो विषय चर्चामा मात्रै सीमित छैन । यसलाई माओवादी केन्द्रले एजेन्डा बनाउनुपर्ने विषय पनि बैठकमा उठेको छ । पूर्वराजाको सक्रियतालाई ध्यानमा राख्दै पार्टीको अभियानलाई पनि उनको विरोधमा जनमत सिर्जना गर्न सकिने गरी लानुपर्नेमा नेताहरूको जोड छ ।

राजा फर्काउने मिति नै तोक्न थाले : प्रचण्ड

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनले गणतन्त्रलाई चुनौती दिने गरी पूर्वराजाको वक्तव्य आएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए । राजतन्त्र फर्काइन्छ भनेर मान्छेहरूले मिति नै तोक्ने गरेको भन्दै यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै प्रचण्डले संविधान, गणतन्त्र, धर्म निरपेक्षतालगायत परिवर्तन आफूहरूले ल्याएको भन्दै त्यसको रक्षार्थ पनि आफूहरू नै खडा हुनुपर्ने उल्लेख गरेका थिए । त्यसका लागि गणतन्त्र पक्षधरहरूसँग मिलेर जानुपर्ने प्रचण्डको भनाइ छ । प्रचण्डले अभियानमा केन्द्रित भइरहँदा राष्ट्रिय राजनीतिलाई पनि नजिकबाट हेरिराख्नुपर्ने उल्लेख गरे ।

अन्तर्राष्ट्रिय चलखेलको आशंका

बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वराजा शाहको अभिव्यक्ति उनको निजी र आन्तरिक राजनीतिको विषय मात्रै नभएको भन्दै भारतको कुम्भ मेला, हिन्दु धर्मावलम्वीहरूको उदाहरण पेस गर्दै त्यसको प्रभाव पनि परेको बताए । उनले पनि देशमा प्रतिगमनको खतरा बढेको भन्दै पार्टीले ध्यान पुर्याउनुपर्ने बताए । ‘यो विषय हाम्रो आन्तरिक कुरा मात्रै होइन । अन्तर्राष्ट्रिय चलखेल पनि बढेर गएको छ । प्रतिगमनतिर लैजाने खतरा बढेर आयो । त्यसकारण हामीले यो विषयमा ध्यान पुर्याउनुपर्छ,’ श्रेष्ठको भनाइ थियो ।

बैठकमा बोल्ने अन्य पदाधिकारीले पनि पूर्वराजाले अतिरिक्त सक्रियता देखाएको भन्दै त्यसलाई पार्टीले नियाल्नुपर्ने बताएका थिए । औपचारिक रूपमै विरोध जनाउनुपर्ने पनि उनीहरूको भनाइ थियो । नेताहरूले गणतन्त्रवादीहरू एकठाउँ उभिएर वक्तव्य दिनुपर्ने पनि मत राखेका थिए ।

प्रतिक्रिया