काठमाडौं । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को श्रव्यदृश्य सार्वजनिक गरिएको छ । आज जमलस्थित विश्वज्योति सिनेप्लेक्समा आयोजित पत्रकार सम्मेलनमा अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा कार्की र निर्देशक फिरोज तिमिल्सेनाले संयुक्त रुपमा सो गीत सार्वजनिक गरेका हुन् ।
निर्देशक तिमिल्सेनाले गायक श्रेष्ठले सुनाउँदा नै गीत मन परेकाले यसलाई श्रव्यदृश्य बनाएर सार्वजनिक गरिएको बताए । उनले भने, ‘केही समयदेखि म नेपाल बाहिर छु, हामी प्रवासमा रहेता पनि नेपाली गीतसंगीत र संस्कृतिप्रति अगाध माया छ, यसै सन्दर्भमा गायक श्रेष्ठले सुनाउनुभएको गीत मन परेपछि नेपाल आएर श्रव्यदृश्य बनाएर सार्वजनिक गर्ने सल्लाह भएबमोजिम आज पत्रकार सम्मेलन गरेका हौँ, यो गीत हेर्नेभन्दा पनि बढी सुन्ने किसिमको छ ।’
उनले मकवानपु्रको कुलेखानी आसपासका दृश्यमा गीतको शब्दको भाव झल्किने किसिमले श्रव्यदृश्य तयार गरेको जानकारी दिए । यस गीतमा देखिएका अभिनेता खड्काले अभिनेत्री कार्कीसँग ‘दर्पण छायाँ २’ चलचित्रपछि काम गर्दा पुराना दिन स्मरण गरेको बताए ।
‘हामी अभिनेता र अभिनेत्रीका हैसियतले एकै चलचित्रबाट आफ्नो अभिनय यात्राको सुरुआत गरेका थियौँ, आज आठ वर्षपछि पुनः गीतको श्रव्यदृश्यमा देखिन पाउँदा खुसी छु, अभिनेत्री कार्की र निर्देशक खड्का प्रवासमा रहेर पनि नेपाली गीतसंगीतप्रति लगाव राख्नुहुन्छ, यसमा उहाँहरूले देखाउनुभएको माया र सद्भाव अनुकरणीय छ,’ अभिनेता खड्काले भने ।
अभिनेत्री कार्कीले सुरुआती चलचित्रमा काम गर्दा नै अभिनेता खड्कासँग सहज लागेको स्मरण गर्दै उनले भनिन्, ‘अभिनेता खड्कासँग काम गर्दा छुट्टै उत्साह थपिन्छ, उहाँको मेहनती स्वभावले म जस्तो नयाँ कलाकारलाई पनि काम गर्ने ऊर्जा मिल्छ, यो गीत सार्वजनिक नहुँदै मैले सुनिरहनेमध्येको एक थियो, त्यसकारण श्रव्यदृश्यमा अभिनय गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु ।’
गीतको श्रव्यदृश्यमा गीता अधिकारीले पनि अभिनय गरेकी छन् । श्रव्यदृश्यमा अर्जुन तिवारीले छायांकन, विकास दाहालले सम्पादन, राजेन्द्र मोक्तानले रंग संयोजन र ज्योति केसीले शृंगार गरेका छन् ।
प्रतिक्रिया