सरकारलाई ‘अक्षम’ घोषणा, समर्थन भने कायमै

सत्तारुढ जसपाको दोहोरो चरित्र

काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको तीव्र आलोचना गरेका छन् । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा ‘राजनीतिक, संगठनात्मक प्रतिवेदन तथा प्रस्तावहरू’ पेस गर्दै अध्यक्ष यादवले सरकारको कडा शब्दमा आलोचना गरेका हुन् ।
उनले सरकार सुशासन, समृद्धि र विकासको सम्बन्धमा केवल नारामा मात्रै सीमित भएको बताएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्नेे कुनै ठोस योजना नहुनुले सरकारप्रति जनतामा नैराश्य बढेको उनको निष्कर्ष छ । सरकार गणतन्त्र र अर्थतन्त्र कमजोर बनाउन लागेको उनको आरोप छ ।

उनले राष्ट्रिय हितको रक्षा र राष्ट्रिय हित अनुकूलको परराष्ट्र नीति कायम गर्न नसकेको यो सरकार असफल र अक्षम सावित भएको बताए । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अन्य दललाई कमजोर बनाउने नीति ल्याएको तथा २ दलीय व्यवस्था कायम गर्ने दिशामा अग्रसर भएको उनको भनाइ छ ।

अध्यादेशको विरोध गर्दा जनविश्वास बढेको दाबी

अध्यक्ष यादवले आफ्नो प्रतिवेदनमा भूमिसम्बन्धी अध्यादेश फिर्ता गर्न जसपा नेपालले राखेको अडानका कारण अन्य ५ वटा अध्यादेशसमेत संसद्मा प्रस्तुत हुन नसकेको बताएका छन् । उनले अध्यादेशको विरोध गरेका कारण पार्टीप्रति जनविश्वास बढेको उल्लेख गरेका छन् । ‘संसद्बाट भूमिसम्बन्धी अध्यादेश फिर्ता नगरुन्जेलसम्म बाँकी ५ वटा अध्यादेशलाई पनि सहयोग र समर्थन नगर्ने चट्टानी अडानका कारण अहिलेसम्म सरकारले सदनमा अध्यादेश प्रस्तुत गर्न सकेको छैन,’ अध्यक्ष यादवले प्रतिवेदनमा लेखेका छन्, ‘सरकारले जारी गरेको अध्यादेशमा रहेको गलत नीति र प्रावधानविरुद्ध हामीले लिएको अडानका कारण आज देश र जनतामा जसपा नेपालप्रतिको विश्वास झनै बढेर गएको छ ।’

सरकारको समर्थनबारे अनिर्णीत

सत्तारुढ गठबन्धनमै रहेर सरकारको कदमको तीव्र विरोध गरिरहेको जसपा नेपालले सरकारलाई दिएको समर्थन के गर्छ भन्ने आमचासोको विषय बनेको छ । सरकारले समेत संसद्बाट अध्यादेश स्वीकृतिका लागि जसपा नेपालको विकल्प खोजिरहेको सन्दर्भमा उसको समर्थन सरकारलाई कहिलेसम्म कायम रहन्छ भन्ने चासो हुनु स्वाभाविक छ ।

तर, जसपाले सरकारलाई कहिलेसम्म समर्थन गर्छ या गर्दैन भन्ने कुरा स्पष्ट पारेको छैन । सरकारलाई आफ्नो माग र मुद्दामा घुँडा टेकाउने जसपा नेपालको लक्ष्य देखिन्छ । सौर्य दैनिकसँग कुरा गर्दै जसपा नेपालका एक पदाधिकारीले अहिले सरकारबाट समर्थन फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीमा छलफल नै प्रारम्भ नभएको बताए ।

उनले आफूहरू अध्यादेश फिर्ता गराउने पक्षमा केन्द्रित रहेको भन्दै उनले सरकारसँग अध्यादेशबाहेक विषयमा कुनै टसल नभएकाले समर्थन फिर्ता गरिहाल्नुपर्ने अवस्था पनि नरहेको स्पष्ट पारे । अध्यादेशमा सरकार कुन रूपमा अघि बढ्छ, सोही अनुरूप सरकारबारे निर्णय गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया