काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले स्थापना गरेको ‘लोक सञ्चारकर्मी कल्याणकारी कोष’मा रु २५ हजार १११ सहयोग प्राप्त भएको छ । सो संस्थाकै संस्थापक अध्यक्ष गोविन्द गिरीले आफ्नो जन्मदिनको अवसरमा शनिबार कल्याणकारी कोषमा रु २५ हजार १११ सहयोग हस्तान्तरण गरेका हुन् ।
आफ्नो जन्मदिनको अवसरमा संस्थापक अध्यक्ष गिरीले सहयोग रकमको चेक कल्याणकारी कोषका अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष हरिबल्लभ नेपाललाई हस्तान्तरण गरेको वर्तमान अध्यष चन्द्रमणी गौतमले जानकारी दिए ।
शनिबार संस्थाकै केन्द्रीय कार्यालय अनामनगरमा पुगेर सो रकम हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष गिरीले आफ्नो जन्मदिनको अवसरमा कल्याणकारी कोषमा सानो रकम भए पनि संस्थालाई सहयोग गर्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिए ।
‘जुन उद्देश्यसहित कल्याणकारी कोषको स्थापना भएको छ, त्यस उद्देश्य प्राप्तिको लागि सहयोग गर्नेछ भन्ने लाग्छ’, उनले भने । उनले जन्मदिन या आफ्नो विशेष दिनमा कोषमा रकम जम्मा गर्ने विषय संस्थागत रूपमै अभ्यासको रूपमा अघि बढोस् भन्ने विचार व्यक्त गरे ।
कल्याणकारी कोषका अध्यक्ष हरिबल्लभ नेपालले कोष बढवाका लागि अभियानकै रूपमा अघि बढाउने र दुखमा परेका लोक सञ्चारकर्मीलाई मलम लगाउने काम गर्ने विश्वास व्यक्त गरे । संस्थापक अध्यक्षबाट शुखद कामको सुरुवात भएको र यसकै आडमा यसअघि प्रतिबद्धता जनाएका तर रकम नआएकाहरुलाई पनि प्रतिबद्धता स्मरण गराउने भन्दै अध्यक्ष नेपालले शुभचिन्तक कलाकार माझ पनि कोष बढवाका लागि अभियान चलाइने बताए ।
पत्रकार डिबि खड्काले लोक सञ्चारकर्मीले लोक कलाकारलाई सफल बनाउन अहम् भूमिका खेल्ने गरेको बताए । लोक सङ्गीत नै मूलधारको सङ्गीत भएको दाबी गर्दै उनले लोक गीतको सर्वव्यापी हुनुमा सञ्चारकर्मीको भूमिका मुख्य रहेको बताए । साथै उनले कल्याणकारी कोषमा आफू पनि जोडिने प्रतिबद्धता व्यक्त गरे ।
संस्थाकै अध्यक्ष चन्द्रमणि गौतमले संस्थापक अध्यक्ष गिरीको सहयोगले कल्याणकारी कोषलाई अझ गति दिन सकिने विचार उल्लेख गरे । आफ्नो विशेष दिनमा कोषमा सकेको रकम जम्मा गर्ने परिपाटीलाई अभ्यासकै रूपमा सञ्चालन गर्ने गरी सम्पूर्ण लोक सञ्चारकर्मीलाई आव्हानसमेत गरे ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले कल्याणकारी कोषमा ५ लाख मौज्दात रहेको र निकट भविष्यमै कोषको रकमलाई १० लाख पुर्याउने लक्ष्य राखिएको अध्यक्ष नेपालले जानकारी दिए ।
प्रतिक्रिया