काभ्रे । बनेपामा एक युवती होटलको कोठाभित्र रहस्यमय अवस्थामा मृत फेला परेकी छन् । बनेपा नगरपालिका– ८ स्थित होटल भ्यु एण्ड पाहुना घरको दोस्रो तलाको कोठा नम्बर ११५ मा बनेपा– ६ बुडोल निवासी २३ वर्षीया शर्मिला श्रेष्ठ मृत अवस्थामा भेटिएकी हुन् ।
फागुन १५ गते साँझ करिब ६ बजे उक्त घटना भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रमुख नायब उपरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
एक संलग्न युवक फरार
प्रारम्भिक अनुसन्धान अनुसार श्रेष्ठसँगै होटल पुगेका रामेछापका एक युवक करिब २५ मिनेटपछि कोठाबाट निस्किएको देखिएको छ । हाल ती युवक फरार छन् भने खोजी जारी रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
अनुसन्धान जारी
घटनास्थलको प्रारम्भिक अवलोकनपछि प्रहरीले घटनालाई शंकास्पद मान्दै अनुसन्धान गरिरहेको छ। प्रहरी निरीक्षक कुँवरका अनुसार, युवतीको हत्या भएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने पोस्टमार्टम रिपोर्टपछि खुल्नेछ । शव कोठाको बेडको बिचमा फेला परेको र युवतीसँग गएका युवक संलग्न हुनसक्ने आशंका गरिएको छ ।
स्थानीयवासीका अनुसार मृतक बनेपाकै एक मेडिकलमा कार्यरत थिइन् । तर प्रहरीले यसबारे आधिकारिक जानकारी भने दिएको छैन । घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया