काभ्रे । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ काफ्लेटी सामुदायिक जंगलमा एक महिलाको मानव कंकाल फेला परेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त शव मण्डनदेउपुर नगरपालिका–११ बस्ने ३५ वर्षीया निशा लामाको भएको खुलेको छ ।
२०८१ फागुन १४ गते बुधबार दिउँसो करिब २ बजे स्थानीयले जंगलमा मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा घटनास्थल नजिकै निशा लामाले प्रयोग गर्ने चप्पल, झोला र सोही झोलाभित्र रहेको लेडिज टेलरको बिलमा उनको नाम भेटिएपछि मृतकको सनाखत गरिएको प्रहरीले जनाएको छ ।
मृतक लामाका श्रीमान् राईफल लामाले कपडा र चप्पलका आधारमा शवको पहिचान गरेपछि प्रहरीले प्रविधिको सहायताले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकै क्रममा प्रहरीले काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–४ का ३६ वर्षीय सुनिल रञ्जितकार हत्यामा संलग्न रहेको पुष्टि भएको छ ।
क्रूर हत्या, जंगलमै शव लुकाएर फरार
प्रहरीका अनुसार सुनिल रञ्जितकारले ढुंगाले टाउकोमा पटक–पटक प्रहार गरी क्रूर हत्या गरेका थिए । हत्यापछि मृतकको शव जंगलमै लुकाएर उनी फरार भएका थिए ।
हत्याको प्रमाण जुटाएपछि प्रहरीले २०८१ फागुन १५ गते बिहीबार अभियुक्त रञ्जितकारलाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
हत्या अभियोगमा पक्राउ पर्ने अभियुक्त ३६ वर्षीय रञ्जितकार धुलिखेल नगरपालिका ४ का हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए ।
प्रतिक्रिया