बलिउड गायक उदित नारायणलाई जेठी श्रीमती रञ्जनाले दिइन् मुद्दा

काठमाडौं । भारतमा चर्चा कमाएका प्रशिद्ध गायक उदित नारायण झालाई आफ्नै जेठी श्रीमती रञ्जना झाले अदालतमा मुद्दा दायर गरेकी छन् । गायक उदितले फ्यानलाई चुम्बन काण्ड नसेलाउँदै अर्को गम्भीर कानुनी झमेलामा परेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीविरुद्ध जेठी श्रीमती रञ्जनाले सुपौल पारिवारिक अदालतमा उजुरी दिएकी हुन् । जसमा उनले उदितले आफ्नो अधिकार हनन र सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएकी छन् ।

सो मुद्दामा उदित नारायण यही फेब्रुअरी २१ मा सुपौल पारिवारिक अदालतमा हाजिर भएका थिए । तर उदितले रञ्जनाका कुनै पनि माग स्वीकार गरेका छैनन् ।

रञ्जनाले आफ्नो बढ्दो उमेर र स्वास्थ्यका कारण आफू अब उदित नारायणसँग बस्न चाहेको अदालतमा बताइन् । तर, उदितले अब यस्तो सम्भावना नरहेको बताए ।

रञ्जना र उदित नारायणबीच १९८४ डिसेम्बर ७ मा विवाह भएको थियो । तर, सम्बन्ध राम्रो हुन सकेन। जब उदितले १९८८ मा फिल्म उद्योगमा प्रसिद्धि पाउन थाले, तब उनले आफ्नी श्रीमती रञ्जनालाई छाडेका थिए ।

यसपछि रञ्जनाले महिला आयोगमा उजुरी दिइन् । त्यसपछि उदितले उनलाई फ्ल्याट र अन्य आर्थिक सहयोगको वाचा गरे तर पछि दिएनन्। रञ्जनाको आरोपको विरोध गर्दै उदित नारायणले रञ्जनाले पैसा उठाउन खोजेको र अदालतलाई गलत जानकारी दिएको दाबी गरेका थिए ।

उनले २०१३ मा बिहार महिला आयोगमा पहिलेको विवाद सौहार्दपूर्ण रूपमा समाधान गरिएको बताए । जसअन्तर्गत रञ्जनालाई हरेक महिना १५,००० रुपैयाँ दिने सहमति भएको थियो । पछि २०२१ मा यो रकम बढाएर २५ हजार पुर्‍याइयो। उनले रञ्जनालाई १ करोडको घर, २५ लाखको कृषि जग्गा र गहनासमेत दिएको दाबी गरेका छन् ।

तर, रञ्जनाले यी दाबी अस्वीकार गर्दै आफूसँग १८ लाख मूल्यको जग्गा रहेको भन्दै उदित नारायणले बेच्न रोकेको बताइन् । यस्तै रञ्जनाले आफू उदितलाई भेट्न मुम्बई पुग्दा दुर्व्यवहार गरिएको आरोप पनि लगाएकी थिइन् ।

यस मुद्दामा मानवअधिकार अधिवक्ता एसके झाले राष्ट्रिय मानव अधिकार आयोग र बिहार मानवअधिकार आयोगमा दुईवटा याचिका दायर गरेका छन् । एसके झाले भारतीय संविधान र हिन्दु विवाह ऐनअन्तर्गत कुनै पनि व्यक्तिलाई आफ्नो अघिल्लो विवाह कानुनी रूपमा समाप्त नगरी फेरि विवाह गर्ने अधिकार नभएको बताए ।

प्रतिक्रिया