न जीवन सुरक्षित, न शैक्षिक भविष्य !

बिदेसिने विद्यार्थीको पीडा

के हुन्छ केआइआइटीका नेपाली विद्यार्थीको पढाइ ?

काठमाडौँ । नेपालबाट हरेक वर्ष उच्च शिक्षा आर्जनका लागि भनेर बिदेसिनेको संख्या ठुलो छ । नेपालको शैक्षिक स्तर, शिक्षा आर्जनपछि अनिश्चित भविष्य र अस्थिर राजनीतिले वाक्कदिक्क भएर दिनहुँजसो नेपाली युवा एकसरो लुगा झोलामा हालेर, वृद्ध आमाबाबु, कलिला लालाबाला र भर्खरै युगल भएका पति÷पत्नीलाई छाडेर गह्रुंगो मन लिएर विमानस्थल वा स्थलमार्ग हुँदै बाहिरिइरहेकै छन् ।

तर, यसरी सुन्दर भविष्यको सपना देख्दै जन्मभूमि र जन्म दिने आमाबाबु छाडेर विदेशी भूमिमा अध्ययनका लागि जाने विद्यार्थीहरू शैक्षिक भविष्यसँगै जीवन नै जोखिममा राखिरहेका छन् । यसैको गतिलो उदाहरण हो– भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी विश्वविद्यालय) मा पछिल्लो समय भएको एक कहालीलाग्दो घटना । सो विश्वविद्यालयमा अध्ययन गर्न पुगेका नेपालीको संख्या १ हजार ५०० भन्दा बढी रहेको बताइन्छ । एउटा विश्वविद्यालयमा अध्ययन गर्न जाने नेपालीको संख्या नै यतिविधि भए भारतकै अन्य विश्वविद्यालय र अन्य मुलुक गएका नेपालीको संख्या कति होला, सहजै आकलन गर्न सकिन्छ ।

केआइआइटइमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि यो घटनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा धेरै चर्चा पायो । यो घटनापछि विदेशमा गएर पढ्ने नेपाली विद्यार्थीलाई जुनसुकै बेला समस्या पर्न सक्ने भन्दै व्यापक चिन्ता व्यक्त गरिँदै छ । नेपालको संसद्देखि सडकसम्म यो विषयमा व्यापक आलोचना भइरहेकै छ । प्रकृतिको मृत्युपछि छानबिनको माग गर्दै धर्ना बसेका विद्यार्थीमाथि कलेज प्रशासनले दमन भएको थियो । नेपाली विद्यार्थीमाथि हातपात गर्नुका साथै होस्टलमा बसिरहेका विद्यार्थीलाई रातारात गाडीमा हालेर बीच सडकमा छाडिएको घटनाले कलेज प्रशासनको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकृतिको मृत्यु पहिलो घटना भने होइन । सोही कलेजमा पढ्ने अन्य विद्यार्थीहरूले बताअनुसार होस्टलमा यस्ता घटना पटक–पटक दोहोरिएका छन्, र फेरि पनि दोहोरिनेछन् । फेरि पनि दोहोरिने यसर्थ छन् कि, उनीहरूका अनुसार कलेज प्रशासनले विद्यार्थीको सुरक्षालाई रत्तिभर प्राथमिकता दिँदैन । पटक–पटक विद्यार्थीले गुनासो र उजुरीप्रति कहिल्यै सुनुवाइ हुँदैन । र, आजित भएर विद्यार्थीले आफूलाई नै सिध्याउने बाटोमा लाग्छन् । यो कुरा केही दिनअघि केआइआइटीबाट फर्किएका विद्यार्थीहरूले कान्तिपुर टिभीसँगको कुराकानीमा पनि खुलाएका छन् ।

नेपाल र भारत दुवै देशबाट आलोचना भएपछि विश्वविद्यालय प्रशासनले माफी मागेर अवस्था सहज भइसकेको भन्दै नेपाली विद्यार्थीलाई भारत फर्किन आग्रह गरेको छ । तर, कलेज प्रशासनले गरेको दुव्र्यवहारपछि पढ्ने वातावरण नभएको भन्दै विभिन्न नाकाबाट करिब ३०० भन्दा बढी नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् । केआइआइटीले अवस्था सामान्य भइसकेको भन्दै नियमित अध्ययनमा फर्किन आग्रह गरे पनि नेपाली विद्यार्थी फर्किने नसकिने बताइरहेका छन् । नेपाल फर्किएका विद्यार्थीहरूको शिक्षा के हुन्छ ? भन्ने विषयमा विद्यार्थी र अभिभावक नै चिन्तित बनेका छन् ।

फर्किएका विद्यार्थीलाई पूर्वाञ्चल र काठमाडौँ विश्वविद्यालयको अफर

पूर्वाञ्चल विश्वविद्यालयले भारतबाट फर्केका विद्यार्थीलाई पढाउन तयार भएको छ । विश्वविद्यालयले गत शुक्रबार सूचना जारी गर्दै विभिन्न कारणले विदेशमा अध्ययन पूरा गर्न नपाएका विद्यार्थीको ‘क्रेटिड ट्रान्सफर’ गरी भर्ना गर्न सकिने जनाएको हो । नेपाल फर्किएका विद्यार्थीहरू इच्छुक भएको खण्डमा भर्ना लिने विश्वविद्यालयले जनाएको हो । उपकुलपति डा. विजुकुमार थपलियाले उनीहरूलाई पढाउन आफूहरू तयार रहेको बताए । यो विषयमा शिक्षा मन्त्रायसँग कुरा गरिसकेको बताउँदै उनले विद्यार्थीलाई भारत फर्केर त्यही कलेजमा पढ्न असहज भएको खण्डमा भर्ना लिने बताए । विश्वविद्यालयले अध्यापन गराइरहेका विभिन्न शैक्षिक कार्यक्रमसँग मिल्ने विषयमा नेपाल सरकारको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरेर त्यस्तो गर्न पाइने उनले जनाए । तर, विषय नमिल्ने विद्यार्थीको हकमा भने उनीहरूको भविष्य अन्योल नै देखिएको छ ।

त्यस्तै, काठमाडौँ विश्वविद्यालयले पनि केआइआइटीबाट अध्ययन पूरा नगरी स्वदेश फर्किएका विद्यार्थीलाई विषय मिलेको अवस्थामा ‘क्रेडिट ट्रान्सफर’ सुविधा दिने जनाएको छ । विदेशमा गएर कुनै कारणले पढाइ पूरा गर्न नसकी नेपाल फर्किनेको हकमा यस्तो सुविधा दिँदै आएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले केआइआइटीकै विद्यार्थीलाई लक्षित गरी फागुन १६ गते काठमाडौँको बालकुमारीस्थित स्कुल अफ म्यानेजमेन्टमा भौतिक उपस्थितिमा र भर्चुअल रूपमा ‘ओपन हाउस’ छलफल पनि चलाउन लागेको छ ।
आइतबार प्रकाशित सूचनामा भनिएको छ, ‘विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन निरन्तरतामा विविध कारणले समस्या भोगिरहेका विद्यार्थीलाई अध्ययन पूरा गर्न यथासम्भव सहयोग गर्ने उद्देश्यले वस्तुस्थिति बुझ्नका लागि काठमाडौँ विश्वविद्यालयले ‘ओपन हाउस’ छलफल आयोजना गर्ने भएको छ ।’

चुपचाप त्रिवि

अन्य विश्वविद्यालयले केआइआइटीबाट अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ सहित अध्ययनको सुविधा दिने बताइरहेका बेला देशको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयले भने अझै निर्णय गर्न सकेको छैन । यसबारे बुझ्न पटक–पटक त्रिभुवन विश्वविद्यालयको वेबसाइटमा राखिएको सूचना अधिकारीको नम्बरमा सम्पर्क गर्दा फोन उठेन ।

कति विद्यार्थी फर्किए ? मन्त्रालय नै बेखबर

वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई एनओसी दिने र शिक्षा क्षेत्रको समग्र विषय हेर्ने संघीय शिक्षा मन्त्रालयलाई कति नेपाली विद्यार्थी स्वदेश फर्किए भन्ने समेत जानकारी छैन । शिक्षा मन्त्रालयले नेपाल फर्किएका विद्यार्थीको हकमा के गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालयसँगको समन्वयमा काम गर्ने बताएको छ । आएका गुनासोअनुसार मन्त्रालयले निर्णय गर्ने बताइएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा विभिन्न देशका कलेजमा अध्ययनका लागि एनओसी लिएका ६६ हजार जनामध्ये ४ हजार ३७३ विद्यार्थीले भारतका लागि एनओसी लिएका छन् ।

विद्यार्थीको सोचअनुसारको कोर्स नै बनेन – डा. विद्यानाथ कोइराला, शिक्षाविद्

केआइआइटीबाट निकालिएका र फर्किएका विद्यार्थीका लागि सबै विश्वविद्यालयले पढाइ निरन्तरतामा ध्यान दिनुपर्छ । केआइआइटीमा बुझाइसकेको शुल्क फिर्ता ल्याउन पहल गर्नुपर्छ । मुख्य कुरा नेपालमा विद्यार्थीको सोचअनुसारको कोर्स कि कोर्सअनुसार विद्यार्थी भन्ने चिन्तन गर्नु जरुरी छ । उन्नत प्रविधिको युगमा हाम्रा विश्वविद्यालयको चिन्तनभन्दा विद्यार्थीको चिन्तन अगाडि छ ।

डा. विद्यानाथ कोइराला, शिक्षाविद्

विद्यार्थीले खोजेको कोर्स यहाँ दिनै सकिएको छैन । तर, त्यसो भन्ने र गर्न सक्ने तागत हाम्रा विश्वविद्यालयका पदाधिकारीहरूमा रहेनछ । त्यही भएर विद्यार्थीहरू बिदेसिइरहेका छन् । विद्यार्थीका रहरका कोर्स पुनर्संरचना गर्ने, नयाँ कोर्स बनाएर सोहीअनुसार अध्ययनको व्यवस्था गर्न नसक्ने हो भने नेपालको शिक्षा प्रणालीप्रति विद्यार्थीको विश्वास थप गुम्दै जाने देखिन्छ ।

प्रतिक्रिया