काठमाडाैँ । राप्रपाका महामन्त्री एवं सांसद धवल शमशेर जबराले नेपालमा धर्मान्तर गर्न अमेरिकाले १४ अर्ब रुपैयाँ खर्च भएको विषय भारतीय संसदमा उठेको विषय प्रतिनिधिसभामा प्रवेश गराएका छन् । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले यसबारेमा अमेरिकासँग कूटनितिक नोट पठाएर जवाफ माग गर्नुपर्ने बताए । ‘कूटनीतिक नोट पठाएर यसबारेमा के हो भन्ने जानकारी लिन माग गर्दछु । र, यस संसदमा जानकारी गराउन माग गर्दछु,’ उनले भने ।
भारतको संसदमा विषय उठे पनि नेपालमा यसबारेमा चासो नदिइएको उनले बताए । ‘अमेरिकाबाट १०० मिलियन डलर नेपालमा धर्मान्तरका लागि प्रयोग भएको छ । भारतको संसदमा ठूलो हंगामा भएको छ । हामीले चासो देखाएका छैनौँ,’ उनले भने, ‘जनआन्दोलन १ र २ बाट नेपाललाई किन धर्मनिरपेक्ष बनाइयो भन्ने कुरा बल्ल आइरहेका छन् । यसमा दोषी को हुन् छानबिन हुनुपर्छ,’ उनले भने ।
प्रतिक्रिया