काठमाडौँ । भारतीय मूलका एस पाउल कपूरलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसिया हेर्ने गरी सहायक विदेशमन्त्री नियुक्त गरेका छन् । कपूर पाकिस्तानका कट्टर आलोचक मानिन्छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा रहेकै समयमा सो नियुक्तिबारेको समाचार ‘लिक’ भएको हो । कपूरको नियुक्तिले दक्षिण एसियालाई हेर्ने अमेरिकी दृष्टिकोणमा व्यापक परिवर्तन हुन सक्ने अनुमान गरिएको छ । यही नियुक्तिका कारण पाकिस्तानमाथि अमेरिका कठोर हुने आकलन गरिएको छ । आर्थिक र सुरक्षाका मामलामा अमेरिका अझ बढी कठोर हुन सक्ने बताइएको छ । दक्षिण एसिया मामलाका अमेरिकी स्कलर माइकल कुगेलम्यानले ट्रम्प प्रशासनमा रहेका अन्य जस्तै कपूरको उपस्थितिले भारत र अमेरिकाको सम्बन्ध अझ बढी प्रगाढ बनाउने बताए ।
अमेरिकी नाभल पोस्ट ग्राजुएट स्कुलका प्रध्यापक कपूर लामो समयदेखि पाकिस्तानी रक्षानीतिका कटु आलोचक हुन् । उनी सन् २०२०–२१ मा अमेरिकाको विदेश नीतिको योजना बनाउने काममा पनि सक्रिय थिए । विदेश विभागको कर्मचारी रहेकै समयमा उनले दक्षिण एसियाको क्षेत्रीय रणनीति, एसिया प्यासिफिक सुरक्षा र अमेरिका–भारत सम्बन्धका विषयमा नीति निर्माणको तहमा काम गरेका थिए ।
कपूरको कार्यक्षेत्र अफगानिस्तान, भुटान, भारत, काजकिस्तान, किर्गिस्तान, माल्दिभ्स, नेपाल, पाकिस्तान, श्रीलंका, ताजकिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तान हुन् ।
प्रतिक्रिया