लेबनानमा नेपाली सेनाका उपरथी ढकालमाथि आक्रमण, २५ जनाभन्दा धेरै पक्राउ

लेबनान । लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्रसंघको काफिलेमा आक्रमण गर्ने २५ जनाभन्दा धेरैलाई पक्राउ गरिएको जनाएको छ । उक्त आक्रमणमा बलको निवर्तमान उप कमाण्डरसहित दुई जना शान्ति सेना घाइते भएका छन् ।

संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरेका छन् । ‘लेबनानी सेनाको खुफिया एजेन्सीले २५ जनाभन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको छ,’ आन्तरिक मन्त्री अहमद अल–हज्जरले शनिबार एक आपतकालीन सुरक्षा बैठकपछि पत्रकारहरूलाई भने ।

‘यी बन्दीहरूले आक्रमण गरेका हुन् भन्ने होइन, तर यसको जिम्मेवार को हो भन्ने अनुसन्धानले देखाउँछ,’ उनले थपे ।उक्त आक्रमणमा आफ्नो मिसन सकेर घर फर्किँदै गरेका नेपाली नागरिक तथा निवर्तमान फोर्स कमाण्डर (उपरथी) चोकबहादुर ढकाल घाइते भएका छन् ।

साथै, लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले आफ्नो एउटा गाडीमा आगजनी गरेपछि छानबिन गर्न आग्रह गरेको छ । युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले एएफपीलाई दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताए ।

प्रधानमन्त्री नवाफ सलामले आक्रमणको कडा निन्दा गरे । लेबनानका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक जेनिन हेनिस–प्लास्चार्ट र युनिफिल कमाण्डर जनरल एरोल्डो लाजारोसँगको वार्तामा उनले दोषीहरूलाई पक्राउ गर्ने वाचा गरे ।

प्रतिक्रिया