अभिनेता सलोन बने निर्माता

काठमाडौँ । बालकलाकार हुँदै अभिनय सुरू गरेका अभिनेता सलोन बस्नेत अब निर्माता भएका छन् ।

सोमबार यहाँ चलचित्र ‘रंगी’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेता बस्नेतले सामाजिक सञ्जालमा भेटेको एक भिडियोले आफूलाई चलचित्र निर्माण गर्न प्रेरित गरेको बताए ।

चलचित्र ‘रंगी’ मा बुबाको संघर्ष र त्यागलाई देखाइएको उनले जानकारी दिए । बुबाको अव्यक्त प्रेमलाई चलचित्रमा देख्न पाइने बस्नेतले बताए । निर्माताको रूपमा पहिलो चलचित्र भएकाले आफ्नो लागि यो सधैँ खास रहने अभिनेता बस्नेतको भनाइ छ ।

‘म चलचित्रकै माध्यमले चिनिएँ, बालकलाकारदेखि चलचित्र कर्ममै छु, मलाई मन परेको कथामा चलचित्र बनाउने सपना थियो, त्यो पूरा भएको’, अभिनेता बस्नेतले भने ।

यसै चलचित्रमार्फत सन् २०२२ कि मिस नेपाल नम्रता श्रेष्ठ अभिनयमा डेब्यु गरेकी छन् । उनले आफ्नो बाल्यकालदेखिकै अभिनेत्री बन्ने सपना पूरा भएको बताइन् ।

चलचित्रमा विशाल पहाडी, उत्तम केसी, बालकलाकार आयुषी ढकाल, सुमिन गुरुङलगायतले अभिनय गरेका छन् । यसै चलचित्रमार्फत सुरेश न्यौपानेले पनि निर्देशनमा डेब्यु गरेका हुन् ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा तयार भएको चलचित्रमा सुमन गजमेरको कथा, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत रहेको छ भने बन्दे प्रसादले सम्पादन, राजेन्द्र मोक्तानले रंग संयोजन, कविराज गहतराज र शिशिर खातीले नृत्य निर्देशन गरेका छन् ।

प्रतिक्रिया