धरान । ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई हराउँदै न्युरोड टिम (एनआरटी) ले २५औँ संस्करणको बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप जितेको छ । फाइनलमा एनआरटीले चर्च ब्वाइजलाई २–१ ले हराएको हो । चर्च ब्वाइजले भुटानको रोएल थिम्पु कलेजलाई ७–० ले पराजित फाइनलमा स्थान बनाएको थियो । एनआरटीले भने फाइनल प्रवेशको क्रममा सेमिफाइनलमा युकेएफसीलाई ३–१ ले पराजित गरेको हो ।
यसअघि २५औँ आहा रारा पोखरा गोल्डकपको पहिलो खेलमै सडनडेथबाट एनआरटीलाई घर फर्काएको चर्च ब्वाइज शनिबार धरान रंगशालामा भएको खेलमा कमजोर सावित भएको थियो । सुरुआतदेखि नै हरेक क्षेत्रमा चर्च ब्वाइज कमजोर थियो । खेलको २२औँ मिनेटमै कप्तान अनन्त तामाङको गोलमार्फत चर्च ब्वाइजले सुरुआती अग्रता भने लिएको थियो । परन्तु, त्यो अग्रता ४ मिनेट पनि टिक्न सकेन ।
२६औँ मिनेटमा विदेशी खेलाडी हेनरी पोकोले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए । ५७औँ मिनेटमा उनले नै दोस्रो गोल गर्दै एनआरटीलाई तेस्रोपल्ट उपाधि दिलाएका हुन् । एनआरटीले यसअघि २०६४ र २०८० सालमा बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो । उपाधिसँगै एनआरटीले १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता चर्च ब्वाइजले भने ५ लाखमा चित्त बुझायो ।
प्रतिक्रिया