तस्विरमा हेरौँ पर्यटकको रोजाइमा परेको शैलुङको मिनी ग्रेटवाल

दोलखा । दोलखाको शैलुङमा निर्माण गरिएको शैलुङ मिनी ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको सो ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ ।

धार्मिक तथा पर्यटकीय स्थल शैलुङ जाँदा शैलुङ ग्रेटवालमा पनि पर्यटकहरू बाक्लिन थालेको हो । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण सो ग्रेटवाल अहिले पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ । ग्रेटवाल हेर्न र शैलुङमा ध्यान, अध्ययन, अनुसन्धान तथा अवलोकन गर्न विदेशी पर्यटकको संख्यामा पनि वृद्धि भएको छ ।

पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवर्द्धन गर्नका लागी मिनी ग्रेटवाल निमार्णको काम सुरु गरिएको थियो । संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा शैलुङ ग्रेटवाल निर्माण गरिएको हो ।

शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुंगा ९५० मिटरसम्म निर्माणको डिपिआर तयार गरिए तापनि अहिले ५०० मिटर मात्र ग्रेटवाल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।

ग्रेटवाल निर्माणको लागि संघीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट रहेको छ । प्रारम्भिक चरणमा ५०० मिटर ग्रेटवाल निर्माणका लागि ४ करोड ९४ लाख १५ हजार ४१८ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो ।

सरकारले नेपालका सय वटा पर्यटकीय स्थलमा पर्यटन पूर्वाधार निर्माण गर्ने अभियान अन्तर्गत शैलुङमा ग्रेटवाल निर्माणको लागि प्रस्ताव गरिएको थियो ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया