बुढीगण्डकी हाइड्रोमा जुट्यो लगानी, १८ महिनाभित्र सञ्चालनमा ल्याउने

काठमाडौँ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ । कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ कुल लागत रहेको यस आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहनेछ ।

राष्ट्रिय वाणिज्य बैंकले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ, भने बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक २७ दशमलव ३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । बर्खामा १८ हजार ६२१ गिगावाट आवर र हिउँदमा ८ दशमलव ७५ गिगावाट आवर बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

आयोजनामा लगानीसम्बन्धी सम्झौतामा बुढीगण्डकी हाइड्रोपावरका तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनालले हस्ताक्षर गरे । अध्यक्ष न्यौपाने, प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, इन्द्रबहादुर ढकाल र बिनोद थापासहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन् ।

सो समूहले यसअघि सोही क्षेत्रमा तोकिएको अवधिभन्दा ६ महिनाअघि ४ दशमलव ५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । साथै प्राथमिक सेयर निष्काशन (आइपिओ) ६ महिनाभित्रमा जारी गर्ने तयारीमा कम्पनी रहेको छ ।
बुढीगण्डकी हाइड्रोपावर १८ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ ।

आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पिपिए) भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको कम्पनीले जनाएको छ ।
आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिने छ । आयोजनाले ६ महिनामा सर्वसाधारण लगानीकर्ताका लागि सेयर जारी गर्नेछ । यससँगै २४ मेगावाट क्षमताको सांग्रिला हाइड्रोपावर निर्माण गर्ने योजना रहेको प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरेले बताए ।

प्रतिक्रिया