काठमाडौँ । अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि अवैध रूपमा रहेका विदेशी नागरिकलाई फिर्ता पठाउने नीतिअन्तर्गत बुधबार २०५ जना अवैध भारतीय आप्रवासीलाई फिर्ता गरेको छ । ती आप्रवासीहरूलाई लिएर अमेरिकी हवाई सेनाको विमान भारतको पन्जाब राज्यको अमृतसरस्थित गुरु रविदास हवाई अड्डामा अवतरण गरेको थियो ।
दक्षिण एसियामा अमेरिकाले अवैध आप्रवासी फिर्ता गरेको यो पहिलो पटक हो । गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको फोन वार्तामा आप्रवासी भारत फिर्ता गर्ने विषयमा सल्लाह भएको थियो । सो वार्तामा भारतले अमेरिकासँग द्विपक्षीय सम्बन्ध सुमधुर बनाउन अमेरिकामै बनेको सुरक्षा उपकरण खरिद गर्नेसम्मको सहमति भएको जनाइएको छ । अर्को साता हुने मोदीको अमेरिका भ्रमणका क्रममा यस विषयमा विस्तृत सल्लाह हुने जनाइएको छ ।
भारतले धेरै आप्रवासीहरू आफ्नो देशमा भएका कुनै न कुनै अपराधमा संलग्न भएका कारण अमेरिकाले उठाएको कदमलाई सकारात्मक रूपमा लिएको बताएको छ । सञ्चारमाध्यमका अनुसार अमेरिकामा ७ लाख २५ हजार अवैध भारतीय आप्रवासी छन् । यद्यपि पन्जाब सरकारका एनआरआई मामलासम्बन्धी मन्त्री कूलदीप धालीवालले फेसबुक पोस्ट लेख्दै उनीहरू पहिले लिएको श्रम स्वीकृतिको म्याद सकिएका व्यक्ति भएको र यसरी सैनिक जहाजबाट पठाइनु गम्भीर विषय भएको जनाएका छन् ।
नेपालसहित अन्य दक्षिण एसियाली देश पनि सो सूचीमा रहे पनि उनीहरूलाई फिर्ता गर्ने मिति भने तय भएको छैन । अवैध रूपमा अमेरिका बस्ने १ हजार ३६५ नेपाली नागरिक पनि फिर्ता गरिनेको सूचीमा छन् ।
यसअघि अमेरिकाले पेरु, ग्वाटेमाला, ब्राजिल र होन्डुरसका अवैध आप्रवासीलाई फिर्ता गरेको थियो । अमेरिकाले कोलिम्बयाका आप्रवासीलाई विमानमामार्फत् छाड्ने प्रयास गर्दा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेड्रोले आफ्ना नागरिकलाई अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएका थिए । यसपछि २ देशबीचमा तनाव उत्पन्न भए पनि अन्तिममा अमेरिकी सर्र्त मान्न कोलम्बिया तयार भएको थियो ।
प्रतिक्रिया