पाथिभरा केबलकार विवाद : विरोधबाट सुरु भएर ३ महिनामा हिंसामा परिणत

काठमाडौँ । ताप्लेजुंगको पाथिभरा मन्दिर पुग्न केबलकार निर्माणको काम थालेपछि उक्त क्षेत्रका स्थानीयहरू अहिले आन्दोलित छन् । केबलकार बनाउन नदिने भन्दै गत कात्तिक २३ गतेदेखि सुरु भएको विरोध, आन्दोलन र झडपको श्रृंखला अहिले उत्कर्षमा पुगेको छ । माघ १५ देखि विभिन्न संघर्ष समितिले मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालिन बन्दको आह्वान गरेका छन् भने अहिले अरुणपूर्वका ९ जिल्लामा बन्दको प्रभाव परेको छ ।

आइतबार केबलकारको विरोधमा उत्रीएका बन्दकर्ता र प्रहरीबीच झापा र सुनसरीमा झडप भयो । सोक्रममा आन्दोलनमा उत्रिएकामध्ये दमकबाट ८ र सुनसरीबाट ६ सहित १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ ग¥यो । पूर्व पश्चिम राजमार्गअन्तर्गत दमक–६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा आन्दोलनकारीहरूले टायर बालेर सडक अवरोध गर्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै ढुंगा हानेका थिए ।

ढुंगा प्रहारबाट मे १ च ५१६१ नम्बरको स्कोरपियोसहित केही सवारी साधनमा क्षति पुगेपछि प्रहरीले केहीलाई पक्राउ गरेपछि दुवै पक्षबीच झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

गत माघ १५ देखि मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतका ६ वटा संस्थाले मेची राजमार्ग र तमोर करिडोरमा बन्द आह्वान गरेका छन् । जसकारण बिर्तामोडबाट मेची राजमार्ग हुँदै पूर्वी पहाडी जिल्लातर्फ जाने सवारी साधनहरू सहज रुपमा चल्न सकेका छैनन् ।

१२ माघमा भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्तालगायतका माग राख्दै मुक्कुुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले बन्द आह्वान गरेका हुन् ।

१९ गते एक विज्ञप्ति जारी गर्दै विभिन्न संघर्ष समितिले ६ बुँदे माग अघि सार्दै २० र २१ गते अरुणपूर्वका ९ जिल्ला लिम्बूवान् बन्द आह्वान गरेका थिए । उनीहरूले आफ्नो मागमा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार, घटनाको उच्चस्तरीय न्यायिक छानबिन तथा दोषीहरूलाई कडा कारबाही गरिनुपर्ने विषय राखेका छन् । आफ्नो माग पूरा नभए अनिश्चितकालीन आमहड्तालसहित देशैभरि आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

घटनाको सुरुआत

गत कात्तिक २३ गते पाथिभरामा केबलकारको शिलान्यास गर्दा विवाद हुँदा झडपकै अवस्था सिर्जना भयो । तर, त्यसबेला केबलकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरूबीच झडप भएको थियो । त्यसदिन तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । तर, शिलान्यास कार्यक्रमलाई विथोल्ने पक्षले ढुंगामुडा गरेपछि शिलान्यास गर्ने पक्ष पनि प्रतिवादमा उत्रिएका थिए । त्यतीबेला नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत प्रतिवादमा उत्रिएका थिए । विवादकै बीच स्काभेटर चलाएर स्टेशनको शिलान्यास गरिएको थियो ।

यसरी मुक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने विभिन्न समूहले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् भने अर्काथरिले केबलकारले थप सहज गर्ने र ताप्लेजुंगको पर्यटकीय महत्व अरु बढ्ने भन्दै केबलकार निर्माणके विरोध नगर्न आग्रह गर्दै आएका छन् ।
गत माघ १२ गते पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा ‘नो केबलकार समूह’ उत्रियो । उनीहरूलाई साम्य बनाउनका लागि प्रहरीले सुरुमा १२ राउण्ड अश्रुग्यास हानेको थियो । माघ ८ देखि केबलकार निर्माणको काम सुरु भएपछि त्यस क्षेत्रको अवस्था तनावपूर्ण हुँदै गएको थियो । प्रदर्शनकारीबाट प्रहरीमाथि ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर ३ जना गम्भीर रुपमा घाइते भएका थिए । उनीहरूको अहिले काठमाडौँमा उपचार भइरहेको छ । साथै, सो घटनामा १९ जना प्रहरीसमेत घाइते भएका थिए ।

चार स्थानीय सरकारको संगम

पाथिभरा मन्दीर क्षेत्र ताप्लेजुङका ४ स्थानीय सरकारको संगम थलोको रुपमा रहेको छ । पाथिभरा मन्दिर र आसपासको ३ किलोमिटरभन्दा बढी क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पर्छ । केबलकार निर्माण हुने स्थान भने फुङलिङ नगरपालिका वडा नम्बर ११ मा मात्र पर्छ । जुन क्षेत्रमा अहिले केबलकार निर्माणका लागि रुख कटान भइसकेर सुरु स्टेसशन काफ्लेपाटीमा संरचना निर्माणको काम सुरु भइसकेको छ । पाथिभरा मन्दिर क्षेत्रमा पाथीभरा याङवरक गाउँपालिका र सिरिजंघा गाउँपालिका पनि पर्छन् ।

पाथिभरा मन्दिरको संरक्षण, हेरचाह र प्रचारप्रसारलगायतका काम गर्न पाथीभरा क्षेत्र विकास समिति छ । यो समितिमा ४ वटै स्थानीय तहका प्रमुखहरू, जिल्ला समन्वय समितिका सभापति, जिल्लाका सबै सांसदहरू, सिडिओ, मालपोत प्रमुख, वन अधिकृतसहित नागरिक समाजका ५ जना प्रतिनिधिहरू छन् ।

केबलकार निर्माणको विवाद भने २ तहमा देखिएको छ । पहिलो तहमा ताप्लेजुङका स्थानीयवासी र आदिवासीहरू छन् । उनीहरू केबलकार निर्माण हुँदा स्थानीयको रोजीरोटी खोसिने, पाथिभरा मन्दिरको ऐतिहासिक महत्व नासिने, वातावरणीय प्रभाव पर्नेलगायतका थुप्रै एजेण्डा अघि सारेर विरोधमा छन् । अर्कोे तहमा स्थानीय ४ वटा सरकारहरू छन् । फुङलिङ नगरपालिकाबाहेक फक्ताङलुङ, पाथिभरा याङबरक र सिरिजङघा गाउँपालिका भने केबलकार निर्माणको प्रक्रिया नै गलत भएको भन्दै विरोधमा छन् ।

सरकार र निर्माण पक्ष एकलौटी रुपमा पेलेर जान खोजिरहेको तथा स्थानीय सरकार, निर्माण कम्पनी र स्थानीयबीच त्रिपक्षीय छलफल नै नभइ त्रुटीपूर्ण प्रक्रिया अघि बढाइएको आरोप त्यहाँका सरोकारवालाहरूको छ ।

अहिले नै त्यहाँ केबलकार बनाउन आवश्यक छैन : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरा केबलकार निर्माण प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन् । आइतबार एक कार्यक्रममा बोल्दै उनले केबलकार अहिले बनाउन आवश्यक नभएको बताउँदै निर्माण प्रक्रिया तत्काल रोक्न सरकारसँग माग पनि गरेका हुन् ।

‘केही राजनीतिक नेताहरूको कमिसनका लागि, केही राजनीतिक नेताको सेयर सुरक्षाको लागि जनतामाथि गोली चलाइ चलाइनकन, जनतामाथि निर्मम दमन गरीकन त्यो केबलकार अहिले बनाउन जरुरत छैन,’ लिङ्देनले भने, ‘केबलकार निर्माण प्रक्रिया तत्काल रोक्न र त्यहाँबाट सुरक्षाकर्मी फिर्ता गरेर सहज वातावरण सहज बनाउन र आतंकको वातावरण अन्त्य गराउन सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

प्रतिक्रिया