काठमाडौँ । अमेरिकाले क्यानडा, मेक्सिको र चीनमा उत्पादित सामानको आयातमा अतिरिक्त कर लगाउने निर्णय गरेपछि ३ वटै देशले प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत तथा चिनियाँँ सामानमा थप १० प्रतिशत कर बढाउने निर्णय गरेपछि ती देशले जवाफी कारवाहीस्वरूप आफूले आयात गर्ने अमेरिकी सामानमा पनि भन्सार बढाउने भएका छन् । यद्यपि क्यानडाबाट हुने ऊर्जा आयातमा थप १० प्रतिशत मात्र कर लाग्ने जनाइएको छ । ट्रम्पको निर्णय मंगलबारदेखि कार्यान्वयन हुँदै छ ।
राष्ट्रपति ट्रम्पको निर्णयलाई लिएर चीनको वाणिज्य मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ । चिनियाँ मन्त्रालयको विज्ञप्तिमा अमेरिकी कदमविरुद्ध उचित जवाफी कदम चाल्ने उल्लेख छ । आइतबार जारी वक्तव्यमा भनिएको छ, ‘चीन यस कदमबाट पूरा असन्तुष्ट छ । चीन यसको कडा विरोध गर्छ ।’
चीनले वक्तव्यमा अमेरिकी कदमलाई विश्व व्यापार संगठनको नियमको ‘गम्भीर उल्लंघन’ समेत भनेको छ । चीनले यस किसिमको निर्णयले चीन र अमेरिकाबीचको सामान्य आर्थिक र व्यापारिक सहयोगलाई हानि पु¥याउने जनाएको छ ।
चीनले यो निर्णयको विरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गर्ने जनाएको छ । वक्तव्यमा भनिएको छ, ‘चीन अमेरिकासँग गलत पद्धति सुधार्न अपील गर्दछ । अहिले देखिएका समस्या सामना गर्न चीनसँग मिलेर काम गर्नु उचित हुन्छ ।’
अहिले अमेरिकाले मेक्सिको र क्यानडामाथि लगाइएको करको एउटा कारण यी दुवै देशबाट अवैध लागुऔषध भित्रिने गरेको दावी गरेको छ । चीनले अवैध लागुऔषध नियन्त्रणको सवालमा सन् २०१९ देखि नै अमेरिकाको सहयात्री भएको पनि दाबी गरेको छ ।
चीन मात्र होइन, मेक्सिकोकी राष्ट्रपति क्लाउडियो सियानबमले सो निर्णय स्वीकार गर्न आफ्नो देश तयार भइनसकेको बताएकी छन् । उनले मेक्सिको सरकारको समन्वयमै लागुऔषध भित्रने भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिलाई निन्दनीय भनेकी छन् । उनले आफ्नो देश अमेरिकासँग सहकार्यका लागि अझै तयार रहेको समेत बताएकी छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेडेउ भने अझ कठोर देखिएका छन् । ‘हामी पछि हट्ने छैनौँ’, पत्रकार भेटघाट कार्यक्रममा उनले भने । ट्रेडेउले अमेरिकाबाट क्यानडा भित्रने १५५ अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत नै कर लगाउने बताए । ती सामग्रीमध्ये ३० अर्ब अमेरिकी डलर बराबरको मंगलबार तथा बाँकी २१ दिनभित्रमा भित्रने बताइएको छ । यसरी क्यानडा भित्रनेमा बियर, जुस, तरकारी, जुत्ता र लत्ता कपडालगायत छन् । २ व्यापारिक साझेदार अमेरिका र क्यानडाको बीचमा सबैभन्दा धेरै तेलको कारोबार हुने गरेको छ । गएको जनवरीदेखि नोभेम्बर बीचमा अमेरिका भित्रने तेलमा ६१ प्रतिशत क्यानडाबाट भित्रिएको थियो ।
प्रतिक्रिया