काठमाडौँ । नेपाल पत्रकार महासंघका तत्कालीन सभापति विष्णु निष्ठुरीले १९ माघको संझना गर्दै १९ दिने निर्णायक जनआन्दोलन सुरु भएको पहिलो दिन सहभागी हुँदा २०६१ चैत २२ गते नयाँ बानेश्वरबाट पक्राउ पर्दै गरेको फोटोे सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखे ‘माघ १९ का दुई दशक’ त्यस बाहेक यो दिनको स्मरण गर्ने कमै छन् । अभिव्यक्ति स्वतन्त्रता हननको चरम रूप माघ १९ क्रमशः स्मरणबाट ओझेल पर्दै गएको छ ।
निष्ठुरीको विचारमा १९ माघका सकारात्मक र नकारात्मक पाटा छन् । नकारात्मक पाटो भनेको छोटो अवधिका लागि भए पनि जनअधिकार गुमेको दिन हो । सकारात्मक भनेको खोसिएको भन्दा बढी अधिकार गणतन्त्रको वीजारोपण गरेको दिन पनि हो त्यो । ‘माओवादीले ‘जंगल’बाट र राजाले सहरबाट स्वतन्त्रताप्रेमीलाई च्यापुवामा पारेका थिए तर यो कदमले स्वतन्त्रताप्रेमीको भूमिका बढाइदियो र देशले निकास पायो, गणतन्त्र आयो’ निष्ठुरीले १९ माघलाई अहिले पनि यसरी नै सम्झन्छन् ।
राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण पोखरेल भने यो दिनलाई निरंकुश तन्त्रको पराकाष्ठाको दिनको रूपमा संझना गर्छन् । ‘यो त आदेशले अरूलाई काम लगाउने होइन आफैँले गर्ने भनेर राजा नै प्रधानमन्त्रीका रूपमा अघि सरेको दिन हो’, पोखरेलले भने, ‘निरंकुश तन्त्र र अहंमताको पराकाष्ठा हो ।’
नेपालको राजनीतिमा विरलै आउने दिन मध्येको एक हो १९ माघ । धेरै अर्थ बोकेको यो दिनको संझना आ–आफ्नै ढंगले गर्न मिल्छ । खास गरी शक्तिको जथाभावी प्रयोग र उन्मादको अव्यवस्थापनको जिउँदो जाग्दो उदाहरण हो यो दिन । अझ परम्परागत र लयवद्ध शक्ति आर्जनभन्दा पनि काकताली परेर शक्तिमा आएकाहरूले शक्तिको दुरुपयोग गर्न कुन हदसम्म जान सक्छन् भन्ने गतिलो उदाहरण हो १९ माघ ।
२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो हातमा लिएका थिए । नेपाली राजनीतिक इतिहासमा १९ माघलाई ‘राजनीतिक कू’ भएको कालो दिनको रूपमा पनि लिइन्छ । तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अपदस्थ गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए । यो सँगै २०४६ सालमा राजा वीरेन्द्र र ७ दलबीच भएको सम्झौता पूर्णतः भंग भयो, राजतन्त्र सहितको संसदीय व्यवस्थाको अन्त्य भयो ।
शाही घोषणासँगै राजा ज्ञानेन्द्रले राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए । सञ्चारमाध्यमका कार्यालयमा सेना परिचालन गरिए । पत्रिका प्रधानसम्पादक होइन ‘मेजर सम्पादक’को नेतृत्वमा प्रकाशित हुन थाले । तर तत्कालीन राजा ज्ञानेन्द्रको शक्ति उन्मादको यो चरम रूप धेरै दिन टिकेन । तर २०६२–०६३ सालको जनआन्दोलनपछि राजतन्त्र नै ढल्न पुगेको थियो । २०४ वर्षको राजतन्त्रको इतिहासमा पूर्णविराम लाग्यो ।
पात्र फेरिएका होलान् तर कुनै न कुनै रूपमा १९ माघका आकाँक्षी आज पनि छन् । जति बेला जे छ जनतालाई त्यसैबाट वञ्चित गर्ने त हो । हिजो जनताको सार्वजनिक अभिव्यक्तिको माध्यम टेलिफोन थिए फोन काटे, सञ्चार माध्यमका कार्यालयमा सेनाको बुट बजारिए, ‘मेजर सम्पादक’ पठाइए । उहिले आदेशबाट शासन चलाउने दम्भ र झोक थियो आज छँदाखाँदाको संसद् छलेर अध्यादेशबाट शासन चलाउने लालसा र भोक छ । टेलिफोन त के चुँडाल्लान्, सामाजिक सञ्जाल भने सत्ताका लागि काउछो भएको छ ।
त्यता कर्केनजर भने कायमै छ । जबसम्म शासकहरूमा शक्तिको दुरुपयोग गर्ने लालसा र भोक रहिरहन्छ तबसम्म १९ माघको सन्त्रास रहिरहन्छ । समग्रमा १९ माघ एक प्रवृत्ति हो । कालन्तरमा आफ्ना लागि अभिशाप बनेको त्यो दिन पूर्वराजा ज्ञानेन्द्र शाहले सम्झने कुरै भएन । शक्तिका नयाँ खेलाडीले पनि यसबाट शिक्षा लिनभन्दा शक्तिको चरम दुरुपयोग गर्न उद्यत छन् । कमी कमजोरी अहिले पनि छन् तर प्रणाली जोगिए सुधार त्यसैबाट सम्भव छ । निष्ठुरीलाई लागेजस्तै आवधिक निर्वाचन र जनताको निर्णय गर्ने अधिकार जोगाइराख्नसके अहिले देखिएका कमजोरी सुधार हुँदै जानेछन् । १९ माघ अनुशरण गर्ने दिन होइन तर शिक्षा लिने दिन भने पक्कै हो ।
प्रतिक्रिया